दशैंको पहिलो दिन घरघरमा राखियो जमरा
हेटौंडा- नवरात्र आइतबारबाट प्रारम्भ भएको छ । नवरात्र सुरु भएसँगै नेपालीहरुको महान चाड विजयादशमीको उल्लास सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैं सुरु भएको मानिन्छ । दशैंको पहिलो दिन घरका पूजाकोठा र दशैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवीदुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । घटस्थापनाको दिन पूजाआजा गरेर जमरा राख्ने गरिन्छ । सोही जमरा दशैंमा टीका लगाउँदा प्रयोग हुन्छ । आइतबार बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाको दिन जौ रोपिनुलाई जमरा राख्ने भनिएको हो । दुर्गादेवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाआराधना गरिन्छ । आश्विन शुक्लप्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीकाप्रसादग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिइ सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आइतबारको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो ठाउँमा विसर्जन गर्नेपरम्परा छ ।







