चाड आएपछि चित्लाङ–थानकोट सडक मर्मत
हेटौंडा- थाहानगरलाई संघीय राजधानी जोड्ने छोटो मार्ग चित्लाङ–चन्द्रागिरी– थानकोट सडक (गणेशमान सिंह मार्ग)को मर्मतसंभार भइरहेको छ । विजयादशमी तथा दीपावलीमा यो सडकमा सवारीचाप पर्ने र वर्षाको बेला जीर्ण बनेको सडकको सडक विभागले मर्मतसंभार थालेको हो । यसअघि २२ असोजमा थाहा नगरपालिकाले सडक विभाग बबरमहललाई पत्राचार गर्दै वर्षाको कारण चित्लाङ–चन्द्रागिरी सडक गणेशमान सिंह मार्गमा सवारीसाधन चल्न असहज भएकोले सडक मर्मतको अनुरोध गरेको थियो । सडक मर्मतका लागि सडक विभागले एउटा जेसिबी र ट्रिपर परिचालन गरेको छ ।
सडकमा वर्षाको बेला सडकमा झरेको पहिरो र नालामा खसेको पहिरो पन्छाउने कार्य भइरहेको छ । साथै सडक क्षेत्रको सरसफाई गर्दै खाल्डाखुल्डी समेत पुर्ने कार्य भइरहेको सडक विभाग बबरमहलले जनाएको छ । चित्लाङ–चन्द्रागिरी थानकोट सडक हुँदै थाहा नगरपालिकासहित कैलाश, भीमफेदी, हेटौंडा तथा बीरगञ्ज आवतजावत गर्ने सवारीसाधनहरु सञ्चालन हुँदै आएको छ । सडक जीर्ण हुँदा यात्रुहरुले सास्ती ब्यहोर्दै आएका थिए ।







