अक्सिजनमा अत्मनिर्भर हेटौंडा अस्पताल

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:१७

हेटौंडा-२ वर्षअघि कोभिड–१९ संक्रमणका कारण देशभर नै अक्सिजनको अभाव भएको थियो । अस्पतालहरुमा अक्सिजन अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन विभिन्न दातृसंस्थाले अक्सिजन सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएका थिए ।महामारीको समयमा काठमाडौंका अस्पतालमा समेत अक्सिजन अभाव भयो । मेडिकल सिटीको रुपमा परिचित भरतपुरमा पनि अक्सिजन अभावको संकटबाट अलग रहन सकेन । भरतपुरसँगै हेटौंडाका अस्पतालमा पनि अक्सिजनको अभाव देखियो । रातारात अस्पतालहरुले अक्सिजनको जोहो गरे । विभिन्न संघसंस्थाको सहयोगमा अक्सिजनका सिलिण्ड प्राप्त भयो भने केहीले अक्सिजन प्लान्ट नै स्थापना गरे ।

अहिले भरतपुर अस्पताल र हेटौंडा अस्पताल अक्सिजनमा आत्मनिर्भर बनेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको  भरतपुर अस्पतालमा कोभिड–१९ महामारीको समयमा एकैपटक ५० सिलिन्डर अक्सिजन प्रयोग हुन्थ्यो । त्यस समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको थियो । तर, अहिले भरतपुरमा ३ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । दैनिक २५० सिलिन्डर उत्पादन गर्ने २ वटा प्लान्ट सञ्चालनमा छन् । थप २० हजार लिटर लिक्विड अक्सिजन स्टोर गर्न अर्को प्लान्ट पनि सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
६०० शैयाको भरतपुर अस्पतालमा केहीदिन अघिमात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा दैनिक १७५ सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट निर्माण भइ हस्तान्तरण भएको छ । अब अस्पताल अक्सिजनमा आत्मनिर्भर बनेको छ । हाल अस्पतालमा दैनिक १५० सिलिन्डर अक्सिजन खपत हुने गरेको सूचना अधिकारी पौडेलले बताए । अस्पतालको इर्मजेन्सी, आइसीयू, एनआइसीयू र पोष्टअप वार्डमा बढी मात्रामा अक्सिजन खपत हुने गरेको उनले बताए ।

यसअघि दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा रहे पनि लिक्विड अक्सिजन खरिद गरी स्टोर प्लान्टमा भरेर राख्नुपर्ने बाध्यता थियो । कोभिड–१९ को समयमा भरतपुर अस्पतालमा दैनिक २३० वटा सिलिन्डर बाहिरबाट खरिद गर्नुपर्ने अवस्था थियो । अक्सिजनमा आत्मनिर्भर बनेसँगै हाल अस्पतालको दैनिक ६१ हजार रुपैयाँ बचत हुने गरेको पौडेलले बताए । गत साउनमा मात्र अस्पतालले ५ लाख रुपैयाँ खर्च गरेर १८ हजार लिटर लिक्विड अक्सिजन खरिद गरेको थियो ।यस्तै हेटौंडा अस्पताल पनि अक्सिजनमा आत्मनिर्भर बनेको छ । अस्पतालमा रहेका ३ वटा प्लान्टमध्ये २ वटा प्लान्ट सञ्चालनमा रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए । अस्पतालमा ३६ घनमिटर, ४० घनमिटर क्षमताको २ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । ४ घनमिटरको लिक्विड रिफिल प्लान्ट स्टकको रुपमा छ । यो प्लान्ट महामारीका समयमा मात्र सञ्चालन गर्नेगरी तयारी अवस्थामा रहेको उनले बताए ।

अस्पतालमा हाल दैनिक ५० वटा अक्सिजन सिलिण्डर खपत हुने गरेको र यो खपत पाइपलाइनबाट सबै वार्डमा पु¥याउने गरिएको प्रसाईको भनाइ छ । हाल ४० घनमिटर क्षमताको प्लान्ट २ वटा इन्जिनबाट सञ्चालन भइरहेको उनले बताए । यो प्लान्टको अक्सिजन अपुग भएको खण्डमा ३६ घनमिटर क्षमताको प्लान्ट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।प्रसाईका अनुसार अक्सिजन प्लान्ट सञ्चालन हुनुपूर्व ६०० रुपैयाँ प्रतिसिलिण्डरका दरले अक्सिजन खरिद गर्नुपर्ने बाध्यता थियो । अस्पतालको केही वार्डमा अझै पनि पाइपलाइन विस्तार नभएकाले केही थान अक्सिजन सिलिण्डर खरिद गरेरै चलाउनु परेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*