बागमती प्रदेश सांसदलाई दसैंभत्ताबापत ८५ लाख वितरण
हेटौंडा- बागमती प्रदेश संसद् सचिवालयले दसैभत्ताबापत् सांसद् र उनीहरुको स्वकीयहरुका लागि ८५ लाख रुपैयाँ बढी उपलब्ध गराएको छ । दसैं सुरु हुनु अगाडि नै सांसद र स्वकीय सचिवलाई ८५ लाख ११ हजार ५ सय ५० रुपैयाँ भत्ताबापत वितरण गरिएको हो । दसैंभत्ताबापतको रकम ९५ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरुलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ सम्बन्धित बैंक खातामार्फत दाखिला गरिएको बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीले जानकारी दिएका छन् । लेखाअधिकृत अधिकारीका अनुसार सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई भत्ताबापत १ लाख ७७ हजार र तीनका स्वकीयहरुलाई १ लाख १२ हजार २ सय २८ रुपैयाँ दसैं खर्चबापत भत्ता वितरण गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री एवम् ११ जना मन्त्रीहरु र तीनका स्वकीय सचिवहरुको दसैंभत्ता भने मुख्यमन्त्री कार्यालयबाटै जाने हुँदा प्रदेशसभामा तथ्यांक नहुुने लेखाअधिकृत अधिकारीले जानकारी दिए । दसैंभत्ताबापत् सभामुखले ६१ हजार चार सय ५० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले ५८ हजार रुपैयाँ, सचेतकहरुले ५४ हजार पाँच सय २० रुपैयाँ र प्रदेशसभा सदस्यले ५२ हजार दुई सय रुपैयाँ दसैंभत्ता लिएका छन् । बागमतीमा हालसम्म संसदीय समितिका सभापतिहरुको टुंगो नलागेको हुँदा सभापतित्व गर्ने जेष्ठ सदस्यहरुलाई सांसदकै तलव बराबरको भत्ता दिइएको संसदसचिवालयले जनाएको छ ।
प्रदेशसभाका सभामुखका स्वकीय सचिवले उपसचिव सरह ४० हजार तीन सय ८०रुपैयाँ, शाखाअधिकृतसरहले ३५ हजार नौ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवले शाखाअधिकृतसरह ३५ हजार नौ सय ९० र बाँकी सांसदहरुको स्वकीय सचिवले नायव सुब्बासरह ३४ हजार ७ सय ३० रुपैयाँ चाडपर्व भत्ता खर्च शीर्षकमा दसंैंभत्ता बुझेका छन् । सभामुख भुवनकुमार पाठकले ऐन अनुसार नै भत्ता दिइएको बताए । सभामुख पाठकले भने, ‘प्रदेशसभा सचिवालयले नियमानुसार भत्ता वितरण गरिएको हो । हामीले नियम नै बनाएर पारिश्रमिक तोकेका छौं ।,’ हाबागमतीमा कांग्रेसको ३७, माओवादी २१, एमालेको २७, राप्रपाको १३ एकीकृत समाजवादी ७ सिट छ भने नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।







