गढीमा गठबन्धन दलकै चेतावनीपूर्ण ज्ञापनपत्र

साझाकुरा
२०८० कार्तिक १, बुधबार ११:५४

हेटौंडा- नेकपा माओवादी केन्द्र गढी गाउँपालिका कमिटीले मंगलबार मकवानपुरगढी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । हालको कार्यसम्पादन सन्तोषजनक नरहेको, जनप्रतिनिधि स्वार्थकेन्द्रित भएको निष्कर्षसहित गाउँपालिका उपप्रमुख आशा नेपाली पाख्रिनलाई ज्ञापनपत्र बुझाएको हो ।मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धन गरेर चुनाव जितेका नेपाली कांग्रेस र नेकपा माओवादी बीच तिक्तता सुरु हुने देखिएको छ । मंगलबार दिउँसो माओवादी केन्द्र मकवानपुरगढीले कांग्रेसबाट अध्यक्ष बनेका दोर्जे लामा स्याङतानविरुद्ध १४ बँुदे ज्ञापनपत्र बुझाएपछि दुई पार्टीबीचको दरार सार्बजनिक भएको हो । नेकपा माओवादी केन्द्र मकवानपुरगढीले गाउँपालिका अध्यक्ष लामाले एकलौटी ढंगबाट बजेट बाँडफाँड गरेको भन्दै १४ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रले सामाजिकसुरक्षा भत्ताको सहजता, किसानलाई दिईने अनुदान, प्रशासनिक सुधार, जग्गाको वर्र्गीकरण, गुणस्तरीय शिक्षा लगायतका विषयमा गाउँपालिकाको कार्यनीति कमजोर भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार खड्का र इञ्चार्ज सरोजकुमार खनालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पालिकाको राजश्व हिनामिनाको विषयमा समेत प्रश्न उठाइएको छ ।गत निर्वाचनमा दलीय गठबन्धनमार्फत निर्वाचित भएको स्मरण गराउँदै गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट बाँडफाँडमा सर्वदलीय र सर्वपक्षीय समन्वयलाई जोड दिन माग गरिएको छ ।

‘दुईवटा आर्थिक वर्षहरुमा बजेट तर्जूमा गर्दैगर्दा राजनीतिक प्रतिशोध छर्लङगै देखियो । निर्वाचनमा प्रस्तुत साझा घोषणापत्र विपरित समान वितरणको कुरा बिर्सिएर आफू आवद्ध दल केन्द्रित कार्यक्रम बनाउँदा तपाईंको हात कामेन अध्यक्ष ज्यु ?’, ज्ञापनपत्रमा अध्यक्षप्रति रोष प्रकट गर्दै उल्लेख गरिएको छ । माग सम्बोन्धन नभए अध्यक्षको गलत कामको भण्डाफोर गर्ने माओवादी केन्द्रका नेताहरुले ज्ञापनपत्रमै चेतावनी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको बिरुद्धमा बोल्न थालेको भोलिपल्टै मकवानपुरगढीमा ज्ञापनपत्र बुझाउने कार्य गठबन्धनमा खटपट सुरु भएको अड्कलबाजी गर्न थालिएको छ । केन्द्रीय सत्ता
समिकिरणमा ध्रुबिकरण हुने संकेत गाउँपालिका तहमै देखिएको राजनीतिकबृत्तमा छलफल हुन थालेको हो । सत्ता समिकरणको समय सकिएको चर्चा चियाचौतारोमा हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*