बागमतीमा जम्कट्टेल सरकार ढाल्न कांग्रेस सांसदहरु सक्रिय

हेटौंडा, २ कार्तिक÷ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हटाउन कांग्रेसका प्रदेश सांसदहरु लागिपरेको खुलासा भएको छ ।कोशी प्रदेशमा कांग्रेसकै ८ जना प्रदेश सांसदहरुले विद्रोह गरी एमालेको साथमा सरकार बनाए जसरी नै बागमतीमा पनि जम्कट्टेल नेतृत्वसको सरकार परिवर्तनको कसरत भइरहेको खुलेको हो । यस घटनाले बागमतीमा नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेलको कार्यशैलीलाई लिएर गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकै सांसदहरु असन्तुष्ट रहेको देखिएको छ ।
लामो समयसम्म सरकार विस्तार नगर्नु, कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका रामकृष्ण चित्रकारलाई झण्डै दुई महिनासम्म मन्त्री नबनाएर थन्काउनु, बजेट निर्माणमा एकलौटी गरेको लगायतका गतिविधिले गठबन्धनकै कांग्रेस सांसदहरु मुख्यमन्त्री जम्कट्टेलसँग सन्तुष्ट नरहेको बुझिएको छ ।कोशी प्रदेशमा एउटा राजनीतिक घटना विकसित भएपछि त्यसको असर बागमतीमा पनि पर्न सक्ने आंकलन गरिएको थियो । बागमती प्रदेशका चारजना कांग्रेसका सांसदहरुले जम्कट्टेल नेतृत्वको प्रदेश सरकार ढाल्न कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भेट गरेको खुलेको हो । जम्कट्टेल सरकार ढाल्न कांग्रेसका सांसदहरुले आफूसँग सल्लाह गरेको महामन्त्री थापाले नै जानकारी दिएका छन् । बागमती प्रदेश सरकार ढाल्ने विषयमा बिहीवार बिहान मात्रै पार्टीका चारजना प्रदेश सांसद आफूकहाँ आएको महामन्त्री गगन थापाले बताए ।
‘आज (बिहीवार) बिहान बागमती प्रदेशका चार सांसद आउनुभएको थियो । उहाँहरु बागमती प्रदेशमा हाम्रो ३८ सांसद छन् । हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं । हाम्रो (शेखर पक्ष) केही दिनभित्र १२÷१३ जना पुगेका छन् । सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो ।’, प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने । सांसदहरुको आग्रहपछि सरकारको विषय आफूलाई थाहा नभएको भन्दै पार्टी सभापति र वरिष्ठ नेतासँग सल्लाह गर्न सुझाएको थापाको भनाई छ ।
‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’, थापाले भनेका हुन् । थापाको भनाईले पनि कांग्रेस माओवादी नेतृत्वको सरकारसँग सन्तुष्ट नरहेको बुझिन्छ । बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । जसको नेतृत्व धादिङबाट चुनाव जितेका जम्कट्टेल मुख्यमन्त्री छन् । बागमती प्रदेशको ६ वर्षे राजनीतिक घटनाक्रममा जम्कट्टेल यस्ता नेता हुन्, जो सत्ता बाहिर रहेनन् ।
२०७४ सालमा प्रदेश गठन भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका जम्कट्टेल डोरमणि पौडेल सरकार ढलेपछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा ७० दिन मात्रै सत्ता बाहिर रहे । शाक्यपछि मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा उनी आर्थिक मामिला तथा योजना मन्त्री भए । त्यस लगतै निर्वाचन जितेर प्रदेशमै दोहोरिएका जम्कट्टेल प्रदेशको तेस्रो ठूलो पार्टी भए पनि भागबण्डाको आधारमा मुख्यमन्त्री बने ।माओवादी नेतृत्वको गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् । बागमतीमा सरकार गठनको बेलादेखि नै गठबन्धनभित्र जम्कट्टेललाई काम गर्न भने सहज भएन ।
कांग्रेसभित्रको विवादले उनलाई सरकार विस्तारमै कठिनाई भएको थियो । कांग्रेसमा मन्त्रीहरुका आकांक्षी धेरै भएकाले पनि अझै असन्तुष्ट कायम छ । परिस्थिति कोशीकै अवस्थामा पुगे बागमतीमा पनि रातारात सरकार परिवर्तन हुनसक्ने कुरालाई नजरअन्दाज गर्न नमिल्ने एमालेका एक सांसद बताउँछन् । ‘संसदीय राजनीतिका यस्ता घटना भइरहन्छन् । अवस्था मिले नयाँ सरकार बन्ने कुरालाई अनौठो मान्नु पर्दैन ।’, एमालेका सांसदले भने ।
जम्कट्टेल २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी मुख्यमन्त्री हुँदा माओवादीसँग एमालेको गठबन्धन थियो । तर, केन्द्रमा गठबन्धन फेरबदल भएसँगै माओवादीले पुनः कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँगै मिलेर सरकार बनाएको हो । बागमती सरकारमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट ४ जना मन्त्री छन् । कांग्रेसको ६ जना र नेकपा (एकीकृत समाजवादी)का २ जना गरी १२ सदस्यीय मन्त्रिपरिषद् छ । कांग्रेसभित्र भागबण्डा मिलाउन जम्कट्टेलले ११ बाट १ वटा मन्त्रालय संख्या बढाएका थिए ।
लामा कार्यबाहक मुख्यमन्त्री
बागमती प्रदेशप्रमुख यादबचन्द्र शर्माले कात्तिक ४ गते शनिबारदेखि लागू हुनेगरी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई नियुक्त गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल केही समयका लागि विदेश जाने कार्यक्रम रहेकोले जम्कट्टेलको उपस्थिति नभएसम्मका लागि लामालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री जम्कट्टेल ब्यक्तिगत कामको सिलसिलामा विदेश जाने कार्यक्रम रहेकोले जम्कट्टेलको सिफारिसमा आर्थिक मामिला तथा योजना मन्त्री लामालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेशप्रमुख कार्यालयका प्रवक्ता गोबिन्दप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रदेशप्रमुखको कार्यालयले बिहीबार बिज्ञप्ती जारी गर्दै मुख्यमन्त्री जम्कट्टेल को अनुपस्थितिमा लामालाई मुख्यमन्त्रीको कार्यभार दिइएको जनाएको छ ।