राक्सिराङका चेपाङ परिवारलाई सोलार, दसैंमा घरै उज्यालो

साझाकुरा
२०८० कार्तिक ३, शुक्रबार १०:२२

हेटौंडा- मकवानपुरको राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा यतिबेला खुसी छाएको छ । दशकौंदेखि टुकीबत्तिको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकी बालेर पढ्ने, लेख्ने, घर, भान्छातयार गर्ने गरेको बताउँदै सेतीमायाले भनिन् ‘अब घरमा झिलिमिलि बक्ति बल्नेभयो ।’ डोको लिएर सोलार लिन पुगेका घिराङ निवासी सूर्यबहादुर प्रजा घरमा सोलार जोडिने भएपछि ज्यादै खुसी देखिएका छन् । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफू मात्र नभई परिवार सबैमा खुसी छाएको उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको चार लाख रुपैयाँबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । ७ नम्बर वडाको धिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ चेपाङ घरपरिवारलाई एक÷एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा ७ र ९ मा अझै विजुली बत्ति पुगेको छैन । चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र मानिन्छ । ज्यादै जरुरी देखिएकाले गाउँपालिकाले सोलार वितरण गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए । पाँच वटा बत्ति, मोवाइल चार्जिङ, र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको मल्लले जानकारी दिए । ‘हामीले सोलार उपभोक्ताको घरमै फिटिङ समेत गरिदिने छौं,’–मल्लले भने । यो क्षेत्र विकट रहेकाले विजुली विस्तार नभएको अवस्था छ, हामीले ठेक्का लगाइसकेका छौं चैतभित्रमा विजुली विस्तार हुनेछः प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

अन्य वडामा विजुली विस्तार भए पनि वडा ७ र ९ मा अझै विजुली पु¥याउन नसकेको अधिकृत गर्तौलाले बताए । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा सुधार होस् भनी सोलारको उज्यालोमा बालबालिका पढ्न सहज हुने उनले बताए । सोलार जडानले गाउँ नै झिलिमिली हुने वडाअध्यक्ष रामबहादुर प्रजाले बताए । ‘वडाबासी मट्टितेलको टुकी बालेर जीवन बिताइरहेका थिए, सोलारले उनीहरुमा खुसी छाएको छ,’ वडाध्यक्ष प्रजाले भने ।

टुकीबत्ति बालेर पढ्दा बालबालिकाको स्वास्थ्यमा समस्या आउनुका साथै खर्चपनि बृद्धि हुने गर्दथ्यो अब भने सोलारबाट उज्यालोमा पढ्न र घरायसी काम गर्न सहजता रहने वडाध्यक्ष प्रजाले बताए । सोलार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्ल, वडाध्यक्ष रामबहादुर प्रजा, प्रमुख प्रशासकीय अधिकृत गर्तौला, योजना शाखाअधिकृत चुननारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*