चाडपर्वको बिदामा पर्यटक पर्खिरहेको कुलेखानी
हेटौंडा- कुलेखानी मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य हो । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानव निर्मित कुलेखानी जलाशयमा आन्तरिक पर्यटकको घुर्इंचो नै लाग्ने गरेको छ ।दसैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ । कतै कच्ची सडक त कतै पक्की सडक हुँदै कुलेखानी पुग्न सकिन्छ ।यहाँको जलविद्युत आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरु जाने प्रमुख पैदलमार्गका रुपले पनि चिनिन्छ । दक्षिणकाली–हेटौंडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ ।
काठमाडौंबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमीको यात्रापश्चात पुग्न सकिन्छ । निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ । जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ । रातामय फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौं जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सिमाना प्रारम्भ हुन्छ । यहाँको अर्को विशेषता भनेको माछा हो । कुलेखानीलाई लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटेल तथा रिसोर्टहरु छन ।
हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटेल व्यवसायीहरु बताउँछन । इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई शयर गर्ने सुविधा उपलब्ध गराइएको छ । सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्नेगरेका छन ।







