मकवानपुरका विभिन्न ठाउँमा दुर्घटना हुँदा १० जना घाइते
हेटौंडा- मकवानपुरको फरक–फरक तीन स्थानमा भएका सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ दुम्सीडाँडाभित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाडाबाट हेटौडा तर्फ जादै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जन घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ देउखेलमा पालुङ–देउखेल भित्रि सडकखण्डमा देउखेलबाट पालुङ तर्फ आउदै गरेको ना ४ ख ४०८३ नम्बरको बस बाटोमा बिग्रीदा उक्त बसको सहचालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर–३ बस्ने १९ को प्रशान्त गोपालीले बसको मुनि पसेर सापट कस्ने क्रममा एक्कासि बस गुड्न गई निज सहचालकलाई सोहि बसले किच्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ । यसैगरी, मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ लामिटारमा झुरझुरे तर्फबाट हेटौडा आउदैगरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन गई दुर्घटना भएको छ । दुर्घटनामा चालक बागमती गाउँपालिका वडा नम्बर–६ ठाडीखोलाका दुइ जना घाइते भएका छन् ।







