उपमहानगरको राजश्व संकलन उत्साहजनक प्रथम त्रैमासिकमै गतवर्षभन्दा ८७ लाख बढी

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकमा गतवर्षभन्दा ८६ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) मा उठाइएको राजश्व रकमभन्दा चालु आवको सोही अवधिमा संकलित राजश्व ८६ लाख अर्थात् ३५ दशमलव ७४ प्रतिशतले बढी हुन आएको हो । एक वर्षको अन्तरालमा प्रथम त्रैमासिकभित्र झण्डै एक करोड रुपैयाँ बढी राजश्व संकलन गर्नुलाई उपमहानगरले आर्थिक प्रगतिको रुपमा लिएको छ । उपमहानगरले गत आव २०७९÷८० को प्रथम त्रैमासिकमा १० करोड २६ लाख २१ हजार एकसय ७७ रुपैयाँ संकलन गरेको थियो ।
त्यसको ठीक एक वर्षपछि अर्थात् चालू आव २०८०÷८१ को प्रथम त्रैमासिकमा ११ करोड १३ लाख चारसय १९ रुपैयाँ संकलन गरेको हो । गत आवभन्दा चालू आवको प्रथम त्रैमासिकमा संकलित राजश्व रकम ८६ लाख ७९ हजार दुईसय ४१ बढी उठेको उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।उपमहानगरले चालु आवमा ३१ करोड १४ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने अनुमान गरेको छ । हालसम्म संकलित राजश्वको आंकलन गर्दा वार्षिकरुपमा अनुमान गरिएको भन्दा बढी संकलन हुन सक्ने अनुमान गरिएको प्रवक्ता न्यौपानेले बताए । राजश्व परामर्श समिति सदस्यसमेत रहेका न्यौपानेका अनुसार कर प्रशासनलाई चुस्त बनाउँदै करको दरभन्दा दायरा बढाउने काममा आफूहरु सक्रिय रहेको बताए ।
चालु आवको समीक्षा अवधिमा करिब १ करोड बढी राजश्व संकलन हुनु प्रगतिको रुपमा रहेको उनले बताए । ‘नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त गर्न आईईई स्वीकृत नभएका कारण समस्या परिरहेको भन्दै त्यसको बाबजुद पनि आन्तरिक आयको लक्ष्य प्राप्तिको लागि उपमहानगर लागिरहेको छ’, प्रवक्ता न्यौपानेले भने ।राजश्व संकलन कार्यलाई सहज, व्यववस्थित बनाउँदै चुस्त, दुरुस्त सेवा प्रदान गरिएकोले बढी राजश्व संकलन भएको प्रवक्ता न्यौपानेको भनाइ छ । उपमहानगरले सेवाग्राहीलाई सहज हुने गरी कार्यालयबाट सेवा प्रवाह गरिरहेको बताए ।
उपमहानगरले चालू आवको प्रथम त्रैमासिकमा एकीकृत सम्पति कर दुई करोड ९१ लाख ७९ हजार चारसय ४९ रुपैयाँ र गत आवमा दुई करोड ४२ लाख ६९ हजार छसय २८ रुपैयाँ संकलन गरेको छ । भूमिकर÷मालपोतको राजश्वमा भने उपमहानरलाई घाटा लागेको छ । ५० हजार संकलन गर्ने अनुमान गरिए पनि चालू आवको तीन महिनामा दुई हजार नौसय ७० मात्रै संकलन भएको छ । गत आवको तीन महिनामा उपमहानगरले सात हजार तीनसय एकरुपैयाँ संकलन गरेको थियो ।
उपमहानगरले घरबाहल कर गत आवमा एक करोड २७ लाख २० हजार सातसय ९६ रुपैयाँ र चालू आवमा एक करोड ८३ लाख ५३ हजार पाँचसय ८८ रुपैयाँ संकलन गरेको छ । गत आवमा ५३ लाख ९६ हजार चारसय ५० रुपैयाँ पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर संकलन गरेको उपमहानगरले चालू आवमा दुई करोड ४५ लाख ४३ हजार चारसय १३ रुपैयाँ संकलन गरेको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर संकलनमा उपमहानगरले ८१ दशमलव ८१ प्रतिशतले प्रगति गरेको छ । व्यवसाय कर गत आवभन्दा चालु आवमा १४ लाख २८ हजार ५५ रुपैयाँ बढी संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
उपमहानगरलाई ढुंगा, गिट्टी र बालुवा संकलन शुल्कमा भने घाटा लागेको छ । गत आवमा ढुंगा, गिट्टी र बालुवा संकलन शुल्कबाट दुईकरोड ६३ लाख १९ हजार पाँचसय ८३ रुपैयाँ उठाएको उपमहानगरले चालु आवको तीन महिनामा प्रगति शून्य छ । ढुंगा, गिट्टी र बालुवा बिक्री गर्दा गत आवमा एकलाख ११ हजार सातसय २० रुपैयाँ संकलन गरेको उपमहानगरको चालू आवको प्रगति शून्य छ । गतवर्ष २० लाख ४५ हजार ६० रुपैयाँ सार्वजनिक शौचालयबाट राजश्व उठाएको उपमहानगरले चालु आवमा राजश्व उठाउन नसकेको कार्यालयले जानकारी दिएको छ । कवाडी संकलन तथा बिक्रीबाट उपमहानगरले गत आवभन्दा चालु आवमा ३६ लाख ६४ हजार ६९ रुपैयाँ बढी राजश्व उठाएको हो ।
चालु आवको प्रथम त्रैमासिकमा ७१ हजार सातसय ५५ रुपैयाँ बेरुजु रहेको उपमहानगरको गत आवमा ८७ हजार सातसय ९३ रुपैयाँ बेरुजु थियो । उपमहानगरले गत आवको तुलनामा चालु आवमा १६ हजार ४१ रुपैयाँ बेरुजु घटाएको हो । उपमहानगरले चालू आवको प्रथम त्रैमासिकमा नदीजन्य पदार्थ जफत गरी जरिवाना वापतको रकम ट्रयाक्टरबाट दुईलाख ७६ हजार र ट्रिपरबाट ९६ हजार रुपैयाँ संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
उपमहानगरपालिकाले चालु आवमा ठेक्का लागेकोबाट पशु हाटबजार सेवा शुल्क वापत सातलाख ३७ हजार ६९ रुपैयाँ, कवाडी कर संकलन शुल्कवापत एककरोड १६ लाख ३३ हजार रुपैयाँ, विज्ञापन कर संकलन शुल्क वापत ३५ लाख पाँचहजार, सवारी पूर्वाधार मर्मत सम्भार शुल्कवापत चारकरोड २८ लाख ८६ हजार सातसय ५० रुपैयाँ र सार्वजनिक शौचालय शुल्कवापत २४ लाख ७२ हजार एकसय तीनरुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।