मकवानपुरमा गाँजा र अफिम खेती फडानी गर्न प्रहरी परिचालन

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:३७

हेटौंडा- मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लागूऔषध गाँजा र अफिम खेती फडानी गर्न प्रहरी परिचालन गरिएको छ ।मकवानपुरमा गाँजाको विरुवा उम्रेर उत्पादनको तयारी हुने समयमा सयौँ प्रहरी जिल्लाको गाँजा खेती हुने कैलाश, राक्सिराङ, भीमफेदीको उत्तरी क्षेत्र, थाहा नगरका भागमा परिचालन हुनेछन् । प्रहरीले वर्षेनी मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लागूऔषध गाँजा र अफि फडानी गर्दै आएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले केही समयअघि मात्रै लागूऔषधको विकल्पमा कफि खेती प्रवद्र्धन गर्न कार्यक्रम सुरु गरेसँगै मकवानपुर प्रहरीले खेती गरिएको गाँजा र अफिम फडानीका लागि प्रहरी खटाएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेसँगै मकवानपुर प्रहरीले आइतबार १ सय ३७ जना प्रहरी परिचालन गरेको जानकारी दिएको छ । आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागूऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागूऔषध फडानीका लागि खटिएका हुन । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन ।

यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा समेत गाजाँ तथा अफिम खेती बढेको पाइन्छ । प्रहरीले गाँजा तथा अफिम खेती फडानी कार्यमा तीव्रता दिएको भएपनि जिल्लामा हुने खेती र तस्करीको क्रम भने हालसम्म रोकिएको छैन । मकवानपुरको राक्सिराङ र कैलाशमा उत्पादन हुने लागूऔषध गाँजा र अफिम भारत निकासी हुने गरेको पाइन्छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा मकवानपुर प्रहरीले ५ सय १९ जना प्रहरी परिचालन गरि १ सय ४४ विगहा ३ कठ्ठा १६ धुरमा लगाइएको गाँजा फडानी तथा नष्ट गरेको थियो । यसवर्ष प्रहरीले १ सय ४४ विगाहा १४ कठ्ठामा लगाएको अफिम खेती पनि नष्ट गरेको थियो । तर, आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आव भन्दा थप २ सय अर्थात १ सय ४६ विगहा १९ कठ्ठा गाँजा फडानी भएको तथ्यांक छ । उक्त आवमा २ सय २४ विगाहा ३ कठ्ठा क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरेको छ । उक्त लागूऔषध नष्ट गर्न प्रहरीको ४ सय ९७ जना जनशक्ति परिचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*