चौथो थाहा महोत्सवको तयारी तीव्र, सचिवालय स्थापना

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:४१

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिमा हुन लागेको चौथो थाहा महोत्सवको तयारी तीव्र पारिएको छ ।मकवानपुरको प्रमुख पर्यटकीय नगरी थाहा नगरमा ५ वर्षपछि आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म चौथो थाहा महोत्सव हुँदैछ । यसअघि कोरोना महामारीका कारण मेला सञ्चालन हुन सकेको थिएन् । थाहा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको थाहा महोत्सवको तयारीअनुरुप आइतबार सचिवालय स्थापना गरिएको छ । शिखरकोटस्थि संघको कार्यालयमा महोत्सव सञ्चालनका लागि सचिवालय स्थापना गरेर काम अगाडि बढाइएको संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

सचिवालय स्थापना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुनकुमार श्रेष्ठसहित १५ जनाको टोली, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, उपाध्यक्ष सुरेन्द्रमान प्रधान, महासचिव जर्म श्रेष्ठ, कोषाध्यक्ष प्रदीप प्रधान, सदस्यहरु इश्वर कार्की र हरेराम कार्कीको उपस्थिति थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले थाहा नगरको उद्योग, व्यापारलाई अगाडि बढाउन दुवै संस्थाले सहकार्य गरेर जाने बताए । थाहा नगरमा लगानी भित्र्याउन चितवनले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए ।

संघले अब आयोजक मूल समारोह समिति र विभिन्न उपसमिति संयोजक चयन गर्ने तयारी गरेको छ । महोत्सव इन्द्रायणीचौरमा हुनेछ । थाहा महोत्सवमा स्टल बुकिङ खुला गरिएको महासचिव श्रेष्ठले जानकारी दिए । करिव २०० स्टल रहने अनुमान गरिएको महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान गर्नुपर्ने थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । संघद्वारा जारी सूचना अनुसार पशुपालन, डेरी, कृषि सामग्री तथा औजार, घरेलु हस्तकला, हर्वल तथा जडिबुटीका लागि १४ हजार शुल्क तोकिएको छ ।

त्यसैगरी कस्मेटिक, घडी, चश्मा, ब्लाङ्केट, व्याग, पर्स, बेल्ट, ट्याटु, मोबाइल कभर, जुत्ता, चप्पल, बैंक, वित्तीय संस्था, गैरसरकारी संस्था, भाँडा, फेन्सी तथारेडिमेड सामानहरुका लागि २५ हजार शुल्क तोकिएको महासचिव श्रेष्ठले जानकारी दिए । बहुर्राष्ट्रिय उद्योग र होटल तथा रेष्टुरेन्टका लागि ५० हजार शुल्क तोकिएको छ । स्टलमा प्रदर्शकले स्टलको अतिरिक्त २ थान कुर्सी, १ थान टेबल तथा विद्युतीय सुविधा पाउने आयोजकले जनाएको छ । महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघ र आयोजक थाहा नगरपालिका रहेको छ । मंसिर भन्दा पछाडि मेला महोत्सव गर्न थाहा नगरमा चिसो बढी हुने भएकोले दसैतिहार सकिएलगत्तै आयोजना गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*