थाहामा जेसीज कोषाध्यक्षहरुको ‘फेलोसिप मिट’ हुँदै
हेटौंडा- पालुङ जेसीजले नेपाल जेसीज अन्तरगतका शाखा कोषध्यक्षहरुको फेलोसिप मिट आयोजनाको तयारी गरेको छ ।आगामी कात्तिक १७ र १८ गते थाहा नगरपालिका वडा नम्बर २ फाँटबजार स्थित ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले बताए । कार्यक्रमको मकवानपुर जिल्लामा रहेका ८ वटा शाखाको सहआयोजना रहनेछ ।
मकवानपुरमा पालुङ जेसीजको साथै, हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसीज, बस्तीपुर जेसीज, बकैया जेसीज, मकवानपुरगढी जेसीज, चैनपुर जेसीज क्रियाशील छन् । कार्कीका अनुसार फेलोसिप मिटमा नेपाल जेसीज अन्तरगत १ सय ७८ वटा शाखाका कोषाध्यक्ष लगायत शाखाका पदाधिकारीहरु र नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता हुनेछ ।
हालसम्म ५० जना भन्दा बढीको रजिष्ट्रेसन भइसकेको कोषाध्यक्ष कार्कीले बताए । कार्यक्रममा मकवानपुरको र थाहा नगरको पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराईनुका साथै थाहा नगरको अध्ययन अवलोकन गराईने छ । थाहा नगरको पर्यटन प्रवद्र्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए । कार्यक्रमकै अवसरमा चित्लाङमा प्याराग्लाईडिङ, पालुङ आग्रा पदयात्रा, कुलेखानी इन्द्रसरोबरमा बोटिङ गर्न सकिने पनि आयोजकले जनाएको छ ।







