दशैंभर मकवानपुरका चारसहित बागमतीमा १७ को मृत्यु

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:११

हेटौंडा- नेपालीहरुको महान चाड विजया दशमी (दशैं) को कात्तिक १ देखि ११ गतेसम्म मकवानपुरमा सवारी दुर्घटना र अन्य घटनामा गरी चार जनाको मृत्यु भएको छ । चाडपर्वमा सवारी साधनको चाप बढ्नु, लापरबाहीसँग सवारी चलाउनुलगायत कारणले दुर्घटना बढी हुने गरेका छन् । २०८० सालको दशैंमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटना बाहेकको घटनामा भीमफेदी गाउँपालिकामा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।

मकवानपुरमा दशैंको एक साता अवधिमा १४ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए । जिल्लाको विभिन्न १२ स्थानमा १४ वटा सवारी दुर्घटनामा परेको हो । मृत्यु हुनेहरु दुई पाङ्ग्रे सवारीबाट दुर्घटनामा परेका थिए ।धरान–चतरा सडकखण्डअन्तर्गत् जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–७ लामिटारमा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालक बागमती–६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो ।

झुरझुरेबाट हेटौंडा आउँदै गरेको ना. ३० प ३४८१ नम्बर मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दलार्मी घाइते भएका थिए । दर्लामीको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार राति ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।मकवानपुरमा अन्य दुई जनाको स्कुटर र क्रेन दुर्घटनामा परी मृत्यु भएको थियो । भीमफेदीमा सवारी दुर्घटना हुँदा काठमाडौं महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्री, हेटौंडा–१५ चुरियामाईमा क्रेन दुर्घटना हुँदा वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने क्रेनका सहचालक १८ बर्षीय विपिन महत्तोको मृत्यु भएको हो ।

स्कुटर चालक थापाका श्रीमान ६५ वर्षीय शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दशैं अवधिभर दुर्घटनामा परी ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।गतवर्षको दशैंमा भएको सवारी दुर्घटनाको अवस्थालाई हेर्दा यसवर्षको दशैंमा बढी दुर्घटना भएको छ । गतवर्षको दशैं अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए ।

यसवर्षको दशैंमा बढी भाडा लिएको १० वटा सवारी साधनलाई कारबाही गरिएको डीएसपी भण्डारीले बताए । ६६ जनाको यात्रुको बढी भाडा २३ हजार २ सय २५ रुपैयाँ रकम फिर्ता गरिएको उनले बताए । मादक पदार्थ सेवन सवारी चलाउने १८ वटा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी १ सय ७१ वटा, टिकट जारी नगर्ने ५८ वटा सवारीसाधन, अन्य ४ सय ६३ वटा गरी कूल सातसय २० वटा सवारी साधनलाईकारबाही गरिएको डीएसपी भण्डारीले बताए ।

बागमती प्रदेशमा
१७ जनाको मृत्यु

चाडपर्वको समयमा बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा भएका विभिन्न घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।मकवानपुरसहित चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे,सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली गरी १० जिल्ला क्षेत्राधिकार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार विभिन्न घटनामा गरेर १७ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परेर भने बागमती प्रदेश भर ६ जनाको मृत्यु भएको छ । दशैं अवधिमा भएका दुर्घटनामा परेर प्रदेशका ३ जिल्लामा ६ जनाको मृत्यु भएको हो । प्रदेशको मकवानपुर, चितवन र नुवाकोटमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

दशैंको अवधिमा प्रदेशका ३ जिल्लामा ६ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये मकवानपुरका ४, चितवन र नुवाकोटमा १÷१ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटना बाहेकको अन्य घटनामा ११ जनाको मृत्यु भएको थियो ।गत कात्तिक ३ देखि ११ गतेसम्मको अवधिमा प्रदेशको मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, चितवन र काभ्रेमा भएका विभिन्न घटनामा परेर ११ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार चितवनमा ४, धादिङमा २, नुवाकोटमा २, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरका १÷१ वटा घटनामा ११ जनाको मृत्यु भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा आइतबार दिउँसो ३ नम्बर वडाको बेसारघारीका ७० वर्षीय गणेशबहादुर स्याङ्तानकोभीरबाट लडेर मृत्यु भएको हो । घरनजिकै घाँस काट्न गएका स्याङ्तान भीरबाट लडेर मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*