पछिल्लो तीन वर्षको शुल्क तिरे बाँकी मिनाहा

उपमहानगरमा व्यवसाय दर्ता शिविर सुरु
साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:१४

हेटौंडा- करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको छ ।हेटौंडाको मुख्य बजार क्षेत्रभन्दा बाहिर वडाहरुमा रहेर बिनादर्ता व्यवसाय गरिरहेका व्यवसायीहरुका लागि सोमबारदेखि वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको हो । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडाबाट सुरु भएको शिबिर सबै वडामा सञ्चालन हुनेछ । उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ता बिना नै व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाइएपछि व्यवासय दर्ता शिविर सञ्चालन थालिएको सदस्यसमेत रहेका उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आन्तरिक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपनि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने सुबिधा उपमहानगरले दिएको उनले बताए । व्यवसाय दर्ता शिविरको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।

१९ नम्बर वडा कार्यालयमा आयोजित शिविरको उद्घाटनमा नगर प्रमुख लामाले दर्ताबिनै व्यवसाय गरिरहेका ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेकी छन् । प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले व्यवासय गरेपछि बैधानिक ढंगबाट गर्न जरुरी रहेको बताइन् । व्यापार गर्ने तर दर्ता नगरी करको दायरामा नआई गर्दा भोलि समस्या पर्नसक्ने भन्दै सबैलाई व्यवसाय दर्ता गरेर काम गर्न आग्रह गरिन् ।

शिविरमा ९ जनालाई प्रमाणपत्र वितरण गरिएको छ भने १५ वटा व्यवसाय दर्ताको प्रक्रियामा रहेको १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवसाय दर्ता प्रकृयाका लागि सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ । शिविरको उद्घाटन कार्यक्रममा हेटौंडा–१९ का अध्यक्ष सुवेदी, हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपाने, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईं, राजश्व शाखा प्रमुख श्यामकृष्ण श्रेष्ठ, १९ नम्बर वडा कार्यालयका सचिव राजेन्द्रनाथ पोखरेलको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*