सेवा विस्तार गर्दै हेटौंडा अस्पताल
हेटौंडा- हेटौंडा अस्पतालमा मिर्गौलाप्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको ५ करोड बढी रकम लागतमा अस्पतालमा मिर्गाैला प्रत्यारोपणको लागि आवश्यक तयारीका कामभइरहेको हो ।अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा काम अघि बढाएको हो । केन्द्र र अस्पतालबीच सम्झौताअनुसार हाल मिर्गौला प्रत्यारोपणका लागि निर्मलीकरण र अपरेसन थिएटर स्थापनाको काम भइरहेको हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने उक्त रकम ठेक्कामार्फत ५ करोड रुपैयाँमा काम गरेको थियो ।
जिल्लाकै एकमात्र सरकारी हेटौंडा अस्पतालले आफ्नो सेवा विस्तार गरिरहेको छ । केही दिन अघि मनोरोग वार्ड सञ्चालनको उद्घाटन गरेको अस्पतालले एमआरआई सेवा र मानव अंग प्रत्यारोपण सेवासमेत सुरु गर्ने तयारी गरेको छ । बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको उक्त प्रादेशिक अस्पतालले अत्याधुनिक एमआरआई मेसिन जडानको काम गरिरहेकोछ । प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाले उपलब्ध गराएको १.५ टस्ला एमआरआई अस्पतालले जडान गरी सञ्चालनमा ल्याएको हो ।
नयाँ भवनसहित उक्त एमआरआई सञ्चालनमा ल्याउन केन्द्रले १६ करोड रुपैयाँ खर्च गरेको छ । केन्द्रले युनाइटेड इमेजिङको एमआरआई टेन्डर खुलाएर सप्लायर्समार्फत अस्पताललाई उपलब्ध गराएको हो । हाल उक्त एमआरआई सञ्चालनको लागि हिलियम राख्ने काम भइरहेको छ भने आगामी केही सातामा सो काम सम्पन्न भईसँगै सञ्चालनमा आउने हेटौंडा अस्पतालका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । एमआरआई सेवाको पनि सुरुवात भएसँगै हेटौंडामा नै जटिल रोगको उपचारमा सहज हुने उनले बताए । उनका अनुसार उक्त एमआरआई मेसिन सञ्चालनमा आएसँगै दैनिक ४० जना बिरामीहरुलाई सहजै सेवा उपलब्ध गराउन सकिनेछ ।
उक्त एमआरआई मेसिन सञ्चालनका लागि ३ जनारेडियोलोजिष्ट र ४ जना रेडियोग्राफर अस्पतालमा रहेको उनले बताए । उक्त जनशक्ति मार्फत् चौबीसै घण्टा सेवा दिन सक्ने अवस्थामा अस्पताल रहेको उनको भनाई छ । केही समय अघिमात्र अस्पतालमा सिटी स्क्यान सेवासमेत सुरु गरिएको मेसु डा. सापकोटाले बताए । अस्पतालले १ सय २८ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको र हाल चौबीसै घण्टा सेवा प्रवाहको काम भइरहेको उनको भनाई छ ।







