लोपोन्मुख समुदाय र आश्रितहरुको स्वास्थ्य बीमा
हेटौंडा- बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘ख’ वर्गका अपाङ्ता व्यक्तिको स्वास्थ्य बीमा गरिदिने भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बीमा गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रम अनुसार पछाडि पारिएका समुदायको स्वास्थ्य बीमा गरिदिन लागेको जानकारी दिए । बीमा कार्यक्रमबाट वनकरिया, सुरेल, माझी, चेपाङ, थामी, बोटे, दनुवारलगायतका समुदाय लाभान्वित हुने भएका छन् ।
मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश कार्यालय भक्तपुरबीच गत असोजमा असोज ४ देखि २०८१ असार समान्तसम्म लागु हुने गरी भएको सम्झौतापत्रमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल र बोर्ड बागमती प्रदेश संयोजक जीवलाल खरेलले हस्ताक्षर गरेका छन । मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको बीमा बापतको ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । स्वास्थ्य बीमा कार्यव्रmममा सहभागी हुने पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपियाँ थप गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशका प्रत्येक वडाबाट नै लाभग्र्राहीको पहिचान गरेर स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गरिने छ । आर्थिक अभावका कारण लक्षित वर्गलाई उपचार पाउन समस्या भएपछि प्रदेश सरकारले उनीहरूको बीमा गरिदिन लागेको हो । गत आवमा प्रदेश सरकारले मकवानपुरका ६ सय ११, भक्तपुरका चार, ललितपुरका पाँच र चितवनका १७ गरी चार जिल्लाका ६ सय ३७ परिवारको बीमा गरिदिएको थियो ।







