बकैयामा मिनिट्रक दुर्घटना हुँदा दुई जना घाइते
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा सवारी साधन दुर्घटना हुँदा २ जना घाइते भएका छन । हेटौडा–धरान–चतरा सडकखण्डअन्तर्गत बकैया गाउँपालिका वडा नम्वर–५ तिनतलेमा मंगलबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा उनीहरु घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०७९२ नम्वरको पानी लोड गरेको मिनिट्रक आँफै अनियन्त्रित भई सडकबाट ७ मिटर तल खसी दुर्घटना हुँदा बकैया–७ हर्दाका युवराज सापकोटा र सहचालक बकैया–६ गवरस्थानका दिनेश लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते ट्रकमा सवार २६ वर्षीय सापकोटा र ट्रकका सहचालक २८ वर्षीय दिनेश लामालाई हेटौडा अस्पतालमा उपचारको ल्याइएकोमा लामालाई थप उपचारको लागि चितवन भरतपुरको पुरानो मेडिकल कलेज रिफर गरिएको भण्डारीले बताए । अर्का घाइते सापकोटाको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।







