बागमती गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका वडा नम्वर–५ मा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ ।बुधवार एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु)ले अस्पतालको शिलान्यास गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै सांसद पुलामीले निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे । उनले मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा अस्पताल निर्माण भइसकेपछि बिरामीहरु टाढा सेवा लिन जानुपर्ने समस्या हट्ने बताए ।
हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बागमती गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको हो । एक विघा क्षेत्रफलमा १७ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती गाउँपािलका–२ का वडा अध्यक्ष जनक पहरी, वडा नम्वर–४ अध्यक्ष दन्तलाल माझी, वडा नंम्वर–५ अध्यक्ष विजय भ्लोन, वडा–७ का अध्यक्ष उत्तर भ्लोन, गाउँपालिकाका कार्यकारी प्रमुख झम्क नारायण घलानलगायतको आतिथ्यता रहेको थियो ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित सरकारी दरबन्दी हुने गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।







