तीन दिनमा एकसय छ व्यवसाय दर्ता, २२ प्रक्रियामा
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १ सय ६ व्यवसाय दर्ता भएका छन् ।हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयबाट सोमबारदेखि सुरु गरेको शिविरमा बुधबारसम्म १ सय ६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रक्रियामा रहेको छ । वडा सचिव राजेन्द्रनाथ पोखरेलका अनुसार वडामा दर्ता बिना सञ्चालनमा रहेर करको दायरा बाहिर रहेका धेरै व्यवसाय दर्ता भएको बताए । ‘दर्ताबिना सञ्चालनमा रहेका वडाभित्रका धेरै व्यवसाय दर्ता प्रक्रियामा सहभागी हुँदै उपमहानगरलाई कर तिर्ने अवस्थामा पुगेका छन्’, उनले भने । दर्ता भएका व्यवयायीलाई प्रमाणपत्र हस्तान्तरण गरिसकिएको छ ।
व्यवसाय दर्ताको प्रक्रियामा रहेकालाई प्रमाणपत्र बनाएर वितरण गर्ने सचिव पोखरेलले बताए । उपमहानगरले करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन थालेको छ । हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई लक्षित गर्दै उपमहानगरका वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो । उपमहानगरपालिकाको सबै वडामा तीन÷तीन दिन शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखाका प्रमुख श्यामकृष्ण श्रेष्ठले बताए ।
उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ताबिना व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेका पाइएपछि व्यवासय दर्ता शिविर सञ्चालन गरेको उनले जानकारी दिए । शिविरसँगै आन्तरीक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने सुबिधा उपमहानगरले दिएको छ ।







