राष्ट्रपतिबाट आममाफी पाएका हेटौंडाका थापा पक्राउ

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:४५

हेटौंडा- राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका मकवानपुर हेटौंडा घर भएका एक व्यक्ति पुनः पक्राउ परेका छन् ।आममाफी पाएको पाँच महिना नबित्दै मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ मा बस्ने रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपतिबाट आमआफी वा कैद मिनाहा पाएकामध्ये हेटौंडाका थापासहित तीन जना पुनः पक्राउ परिसकेका छन् । सर्वोच्च अदालतको आदेशबाट बिहीवार मात्रै नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल पुनः पक्राउ परे । यसअघि राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्र पनि पक्राउ परेका थिए । जेलबाट छुटेको एक महिनामै लोकेन्द्र हत्या जस्तो जघन्य अपराध गरेको आरोपमा पक्राउ परेका हुन ।

हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ मा बस्ने थापा चार पटकसम्म फरक–फरक मुद्दामा जेल परेका अभियुक्त हुन् । कैद मिनाहा पाएको ५ महिनामा फेरि अर्को अपराध गरेपछि प्रहरीले थापालाई चितवनबाट बुधवार पक्राउ गरेको हो । ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितले बताए । थापाले भरतपुर–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई कत्तिक ८ गते साँझ टेलिफोन गरेर अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेको प्रहरीको दाबी छ ।

हेटौंडाका थापा पाँचौ पटक पक्राउ परेका हुन् । थापाविरुद्ध यसअघि २०७५ मंसिर १३ मा जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा चितवन जिल्ला अदालतले थापालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका थिए । थापाविरुद्ध यसअघि चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा, २०७३ मा ललितपुर प्रहरीले लागूऔषध मुद्दा र २०७५ मा चितवन प्रहरीले डाँका मुद्दा चलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाह पाउनेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । जेलमा बस्दा असल चालचलन देखिएको भन्दै जेलरको सिफारिसमा फाइल अघि बढेपछि मन्त्रिपरिषद् हुँदै सो फाइल राष्ट्रपतिसम्म पुग्छ । तर, सरकारले ‘असल’ देखेकाहरु फेरि किन अपराध कर्ममा लाग्दैछन् भन्नेबारे गम्भीर प्रश्न उठेको छ । पछिल्ला घटनाले कैद मिनाह दिने सिस्टममाथि नै प्रश्न उठेको बताउँछन् वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ । उनले गलत सिफारिस रोक्नुपर्ने जोड दिए । संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ को दफा ३७ र फौजदारी कसुर (कैदकट्टा) नियमावली २०७६ को नियम–३ अनुसार असल व्यवहार भएकाहरुलाई कैद छुट दिने कानुनी व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*