बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउँदै उपमहानगर

साझाकुरा
२०८० कार्तिक १८, शनिबार ०८:२४

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रममा आफैं सँलग्न रहेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी छन् ।हेटौंडा–११ नवलपुरको त्रिभूवन माध्यमिक बिद्यालय खोप केन्द्रमा पुगेर नगर प्रमुख लामाले स्थानीय बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएकी हुन् । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखामार्फत् सञ्चालमा रहेको खोप केन्द्रमा पुगेकी लामाले ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी थिइन् । उपमहानगर क्षेत्रका ९२ वटा केन्द्र मार्फत् शुक्रबार र शनिबार दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ ।

खोप केन्द्रहरुमा नगरक्षेत्रमा महिला स्वयमसेविका र आमासमूहका प्रतिनिधि संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानर स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले बताए । उनका अनुसार उपमहानगरको १९ वडामा रहेका १२ हजार वालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने उनले बताए । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा चारसय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।

मकवानपुरमा भिटामिन ए खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयम्सेविका परिचालन भएका छन् । सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोके पनि यस वर्ष दशैंका कारण भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*