जाजरकोट र रुकुम पश्चिममा भूकम्प १५७ जनाको मृत्यु, १९७ घाइते
काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट शनिबार साँझ ७ बजेसम्म दुबै जिल्लामा गरी एकसय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी, भूकम्पबाट जाजरकोटमा एकसय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन–तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
बागमती प्रदेश सरकारद्वारा डेढ करोड सहयोग गर्ने
हेटौंडा- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भई गएराति गएको भुकम्प पीडितका लागि बागममती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितको प्रभावकारी उद्दार, उपचार, राहत र पुनस्र्थापनाको लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
उनले बिपद्को यश घडीमा वाग्मती प्रदेश सरकार कर्णाली प्रदेश सरकारको साथमा रहने बताए । मन्त्री श्रेष्ठले भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गरेको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मन्त्री श्रेष्ठले विपद्को यश घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गरे ।







