ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा १०२ जना ज्येष्ठ नागरिकलाई सम्मान
हेटौंडा-ब्रमकुमारी राजयोग सेवा केन्द्रले ७० बर्ष उमेर पूरा भएका १०२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा सहभागी मकवानपुर थाहा नगरपालिका ४ की ७५ बर्षीया सान्नानी अधिकारीले आश्रमबाट पाएको सम्मान ज्येष्ठ नागरिकको लागि ऊर्जा भएको बताइन् । २५ वर्षदेखि आश्रममा लागेकी अधिकारीले ज्येष्ठ नागरिकको लागि सन्तानको माया र हेरचाह सबैभन्दा उच्चसम्मान हुने बताइन् ।
यसैगरी, ७२ बर्षीय माधव अधिकारीले उमेरको कारण आफूले जीवनमा पहिलोपटक सम्मान पाउँदा औधि खुशी लागेको बताए । नेपाल उद्योग महासंघमा लामो समय नेतृत्व गरेका अधिकारीले बालबालिकाहरुलाई जीवनमा अभाव पनि हुन्छ भन्ने आभाष नदिएर हुर्काएका अभिभावकहरु नै कालान्तरमा अभावमा रहनुपर्ने अवस्था आफूले देखेको उल्लेख गर्दै भने– ‘सन्तान वैदेशिक रोजगारीमा जाँदा एक्लिएका बाबुआमाहरुको लागि सोच्ने ब्यक्तिको अभाव समाजका अहिले खड्किएको छ ।’
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले जन्म मृत्युु प्रकृतिको लय भएपनि जिम्मेवारी पूरा गर्नु सबैको कर्तव्य भएको बताए । ‘आमा बुबाले सन्तानको लागि सबै जिम्मेवारी पूरा गर्छन्, उमेर ढल्कँदै जाँदा सम्मानदेखि मृत्युपछि श्राद्व गरेर सँस्कृति अनुसार कर्म गर्ने परम्परा समाजमा छ, तर केही ज्येष्ठ नागरिकहरू जीवनकालमै अपहेलित हुनुपर्ने पीडा पनि यही समाजमा देखिन्छ’ उनले भने ।
आफूलाई आफैले शान्ति दिने, ज्येष्ठ नागरिकको सम्मानस्वरुप राज्यले ज्येष्ठ नागरिक भक्ता दिएको उनले बताए । अब यसलाई मासिक १० हजार पु¥याउने प्रयासमा आफू लागि परेको उनले बताए ।बृद्वभत्ताले घर चलाउन पर्ने अवस्था पीडादायी भएको उल्लेख गर्दै उनले भने ‘अर्थतन्त्र कहालीलाग्दो भएको छ, ब्यवसाय बिग्रेर घर लिलाम हुने अवस्थामा पुगेको छ, यो बेला ज्येष्ठ नागरिकलाई ऊर्जा र प्रेरण भर्ने काम केन्द्रले गरेको छ ।’
यसैगरी, कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले सन्तान वैदेशिक रोजगारमा जाँदा ज्येष्ठ नागरिकको हेरचाहमा समस्या भएको बताए । ज्येष्ठ नागरिकले सम्मान पाएमात्रै परिवार र समाज समृद्ध हुनसक्ने उनले बताए ।ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको क्षेत्रीय संयोजक शुशिला दिदीको अध्यक्षतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले ज्येष्ठ नागरिकको योगदानको सम्मान तथा कदर गर्ने प्रयास गरेको बताइन् ।
कार्यक्रममा केन्द्रको विभिन्न शाखाका सञ्चालकहरुको समेत उपस्थिति रहेको कार्यक्रम सञ्चालक बिकेमणि गुरुङले बताए । समाजमा सकारात्मक सन्देश प्रदान गर्न केन्द्रले महत्वपूर्ण योगदान गर्दै आएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा वृद्धवृद्धाहरुको मनोरञ्जनको कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।







