मकवानपुरमा पशुमा लाग्ने नाम्ले रोगको समस्या बृद्धि

साझाकुरा
२०८० कार्तिक १९, आईतवार १२:४८

हेटौंडा- मकवानपुरमा पशुचौपायामा लाग्ने नाम्ले रोगको समस्यामा बृद्धि भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा पशुको गोवर परिक्षण गर्दा अधिकांश पशुहरुमा नाम्ले रोग देखा परेको हो ।गोवर परीक्षणबाट पशुको कलेजो, आन्द्रामा लाग्ने रोग, नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, चेप्टे जुकाबारे थाहा हुने र सोही अनुसार आवश्यक औषधि प्रदान गर्ने गरिएको पशुसेवा विज्ञ केन्द्र पशुस्वास्थ्य प्राविधिक विनिता राईले बताइन् । विज्ञ केन्द्रमा पशुको गोवर परीक्षण गर्दा धेरैमा माटे जुकाको रोग देखिएको छ । वर्षायामको समयमा पशुलाई चिसो र शंखे किरा लागेको घाँसपात खुवाउँदा माटे जुका रोग लाग्ने गरेको पशुस्वास्थ्य प्राविधिक राईले जानकारी दिइन् ।

गाईले घाँस, पानी नखाने समस्या आएपछि हेटौंडा–९, लामसुरेधापकी सावित्री भट्टराई पशुको गोवर परीक्षण गराउन विज्ञ केन्द्र आइपुगेकी थिइन् । उनले अर्ध वार्षिकरुपमा गोवरको परीक्षण गराउने र पशुलाई औषधि खुवाउने गरेकी छन् । गाई ब्याउन डेढ महिना बाँकी रहँदा नाम्ले जाँच गराउन हेटौंडाको बसामाडी–३ की लिला ढुंगेल गोवर लिएर विज्ञ केन्द्र आइपुगेकी छन् । उनीहरु जस्तै विज्ञ केन्द्रमा गाईं, भैंसी, बाख्रा र सुंगुरको गोवर लिएर पशुपालक किसान परीक्षणका लागि आउने गरेका छन् ।

चालु आर्थिक बर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले सातसय ६५ गोवरको नमुना परीक्षण गरेको छ । विज्ञ केन्द्रका अनुसार साउनमा २ सय ५३, भदौमा २ सय १५, असोजमा २ सय ८५ र कात्तिक दोस्रो सातासम्म १२ वटा गोवरको नमूना परीक्षण गरिएको हो । विज्ञ केन्द्रमा हेटौंडा, मनहरी, मकवानपुरगढी, बकैया, बागमती, भीमफेदी र बारा जिल्लाबाट पनि पशुको गोवर लिएर परीक्षण गराउन पशुपालक किसान आउने गरेकी विज्ञ केन्द्रकी सहायकस्तर पाँचौ सुस्मिता अधिकारीले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*