लागूऔषध ओसारपसारको आरोपमा चार जना पक्राउ

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०९:००

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरक स्थानबाट लागूऔषध ओसारपसारको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गाँजासहित ३ जना र कोठामा लागूऔषध राखेर ओसारपसार गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५, स्थित रातोमाटे चेकपोष्टबाट ३ जनालाई पक्राउ गरेको हो । हेटौँडाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ५९२२ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा ९ किलो ९ सय ८० ग्राम गाँजासहित मनहरी गाउँपालिका वडा नम्बर–८ का १९ वर्षीय दिपक मुक्तान, ५० वर्षीय बुद्धिमान मुक्तान र ४० वर्षीय मंगलसिं थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडा डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामा छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी लेवटबाट खटिएको टोलीले गत शनिबार राति १० बजेको समयमा लामाको कोठामा छापा मारेको थियो । उनको कोठाबाट लागूऔषध स्टेगन ४७ पत्ता १७ ट्याब्लेट, ट्रामाडोल १४ पत्ता २ ट्याब्लेटसहित नगद १५ हजार दुई सय रुपैयाँ र मोबाइल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*