हेटौंडामा फूल खेती बढ्दै, ढकमक्क सयपत्री फूलले स्वागत गर्दै तिहार

प्रतिक्षा न्यौपाने
२०८० कार्तिक २१, मंगलवार ०९:४७

हेटौंडा- हेटौंडासहित मकवानपुरका अधिकांश स्थानीय तहमा कुनैबेला भारतबाट आयातित कृतिम फूलका मालाको भरमा तिहार पर्व मनाउने गरिन्थ्यो ।इन्द्रसरोबर, बकैया, कैलाश, भीमफेदीलगायतका पालिकाहरुमा फूलेका ढकमक्क फूलले तिहार पर्व आएको अनुभूति गराउँथ्यो । तर, हेटौंडा, मनहरी, मकवानपुरगढी, थाहा नगरपालिकाको तल्लो क्षेत्रमा स्थानीय स्तरमै उत्पादित फूल अपुग भएपछि भारतबाट आयातित कृतिम फूलका मालाको भर पर्नुपर्ने थियो । अब भने हेटौंडाका विभिन्न स्थानमा व्यावसायिक फूल खेती हुन थालेपछि भारतीय कृतिम फूलका माला विस्तारै विस्थापित हुँदैछ । हेटौंडामा किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् ।

पछिल्ला केही वर्षयता मकवानपुरमा व्यावसायिक फूलखेती हुने क्रम बढ्दै गएको हो । मकवानपुरमा २० देखि २५ जना व्यावसायिक फूल खेती गर्ने किसान रहेको जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले जानकारी दिए । उनै घलान पनि हेटौंडाको १२ नम्बर वडामा १ विगाहा क्षेत्रफलमा व्यावसायिक फूल खेती गर्दै आएका छन् । विगत ५ वर्षदेखि फूल खेती गर्दै आएका घलानको मुख्य आयस्रोत फूल खेती हो । जिल्ला समन्वय समितिमा दिनभर काम गरेर उनी फूल खेतीमा पनि ध्यान दिन सक्षम छन् ।

उनकाअनुसार मकवानपुरको माथिल्लो भेग अर्थात् थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढीमा सयपत्री फूलको बढी खेती हुने गरेको छ । तर, यहाँको खेती सिजनमा मात्रै भइरहेको घलानले बताए । हेटौंडामा भने बाह्रै महिना फूल खेती गर्ने किसान धेरै भइसकेका छन् । हेटौंडाकै १६, १७ र १८ नम्बर वडाको हर्नामाडी, हटियामा व्यावसायिक फूल खेती बढ्दै गइरहेको जिसस प्रमुख घलानले जानकारी दिए । हेटौंडा–६, १२, १३, १४ नम्बर वडालगायतका स्थानका २० बिगाहा क्षेत्रफलमा फूलखेती भइरहेको छ ।

जिसस प्रमुख घलानले नगदे बाली भएकाले मनग्यै आम्दानी गर्न सकिने बताउँछन् । ‘नगदे बाली हो । सिजनमा राम्रो हुन्छ । तिहार, संघसंस्थाको साधारणसभा, अन्य चाडपर्व, मेला–महोत्सवमा, विवाह लगनमा माग बढ्दो छ । फूलको माग नहुने दिन नै छैन’, घलानले भने, ‘पूजाआजा नहुने बेलामा माग आउँदैन’, सिजनमा मात्रै खेती गर्नेले ५–६ लाख र बाह्रै महिना खेती गर्नेले १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । घलानले आफूलाई पनि फूल खेतीबाट राम्रो आम्दानी भइरहेको बताउँछन । फूल खेतीमा लागतको दोब्बर आम्दानी हुने उनले बताए ।

हेटौंडामा मात्रै नियमित खेती गर्ने २०–२५ जना रहेका छन् । सिजनमा खेती गर्ने धेरै रहेको घलानले बताए । उत्तरी क्षेत्रमा भीमफेदी गाउँपालिकाको नामटार, भैंसे, इन्द्रसरोबर गाउँपालिकाको हुमानेभञ्ज्याङ, मकवानपुरगढीको बुढीचौर, बकैयाको ठिंगनलगायत क्षेत्रमा बढी फूल खेती हुने गरेको छ । चिसो मौसमा बढी समय बोटमा फूल रहिरहने र चाँढै नऔंल्याउने भएकाले माथिल्लो भेगमा खेती उत्तम रहेको घलानले सुनाए । हेटौंडामा १३ नम्बर वडामा सुरज थिङ, हेटौंडा–१२ का चन्द्र घलानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का कृषक बालकृष्ण चौलागाईंले विगतका वर्षदेखि नै व्यावसायिक फूलको खेती गर्दै आएका छन् । सयपत्री फूल फूलेपछि वरिपरिको सौन्दर्यसमेत बढेको उनी सुनाउँछन । छाटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको चौलागाईले बताए । चौलागाईंले यसवर्षलाई २० हजार माला बजार लाने तयारीसमेत गरेको बताए । उनले बिरुवा पनि बेच्ने हुनाले त्यही बिरुवाका फूलहरुको व्यवस्थापन समेत आफैंले गर्दै आएको बताए ।

चौलागाईको आफ्नो ६÷७ जनाको घर परिवार यसै व्यवसायले धानेको बताए । उनले तिहारको बेलामात्रै नभई ३ सय ६५ दिन नै फूल बेच्न लागि परेको जानकारी दिए । कुनै सार्वजनिक कार्यक्रमहरुमा पनि स्वदेशमै उत्पादित फूलको माग बढ्दो रहेको उनको भनाइ छ । विगतमा भारतबाट आयातित खादाको प्रयोग गरिने औपचारिक कार्यक्रमहरुमा हाल फूलको प्रयोग बढेको हो । चौलागाईलाई औपचारिक कार्यक्रमहरुका लागि फूलको माग आउने गरेको छ । अहिले खादाको वैकल्पिकरुपमा मालाको प्रयोग बढदै गएको उनले बताए । जसकारण आफूले वर्षभरि नै फूल फूलाएर व्यावसायिक योजना बनाउने उद्देश्य रहेको सुनाए ।

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । १२ महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । मकवानपुरमा ढकमक्क फूलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेको छ ।

उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा व्यावसायिक खेती हुन थालेसँगै स्थानीय तहरुले पनि प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने किसानहरु बताउँछन् । हालै संघीय सरकारले भारतबाट आयत हुने फूल र प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेकाले स्थानीय किसानहरुको हौसला बढाएको छ । व्यवसायी चौलागाईंले स्वदेशमै उत्पादित फूलले बजारको माग पूरा गरेको अवस्थामा बाहिरबाट आउने फूल रोक्ने कार्यले स्थानीय किसानको व्यावसायिक सुरक्षामा ठूलो मद्दत पुग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*