समुदायमा आधारित कृषि प्रणालीमा जाँदैछौंः मुख्यमन्त्री

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिक्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताएका छन् ।उनले कृषिमा भएको व्यक्ति केन्द्रित अनुदान लगानीबाट प्रतिफल प्राप्त नभएकाले बागमती प्रदेश सरकार समुदायमा आधारित कृषि प्रणालीमा जान लागेको बताए । राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौंडामा भएको सोह्रौँ योजना (२०८१÷०८२–२०८५÷०८६) तर्जुमासम्बन्धी बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कृषिमा यसअघि व्यक्ति केन्द्रित गरी दिइएको अनुदान पहुँचवालाले मात्र पाएको बताए । राजनीतिक परिवर्तनमा क्रमभङ्ग भयो, प्रशासनिक क्षेत्रमा पनि संघीयताको भावनाअनुसार परिवर्तन भएको तर, योजना निर्माणमा पुरानै मानसिकता रहेको बताए ।
उनले भौगोलिक अवस्था र आवश्यकताका आधारमा योजना निर्माणमा विशिष्टीकरण आवश्यक भएको औँल्याए । उनले स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले अहिले पन्धौँ योजनाको अन्तिम वर्षमा रहेको बताउँदै दीगो विकासका लक्ष्यहरु प्राप्ति हुने गरी आगामी योजना बन्नुपर्ने बताए । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाले विकासको मोडलमा परिवर्तन गर्न नागरिक लक्षित योजना तर्जुमा हुनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक यदुनाथ आचार्यले पन्धौँ योजनाको समिक्षा, प्रगति, सोह्रोँ योजनाको आवश्यकता, नेपालको विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए । बागमती प्रदेश सरकारका मन्त्रीहरु, बागमती प्रदेशसभा सदस्यहरु, प्रदेशस्थित मन्त्रालयका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको छलफल कार्यक्रम आज मंलबारसम्म सञ्चालन हुने योजना आयोजकले जनाएको छ ।