कैलाश गाउँपालिकामा सडक विस्तार तीव्र
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकाले पालिका केन्द्रदेखि वडासम्म सडक विकास विस्तारको कार्यलाई तीव्रता दिएको छ ।गाउँपालिका केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्न र प्रत्येक वडाहरुमा सडक सञ्जाल विस्तारको लागि सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । कैलाश गाउँपालिका, प्रदेश र संघीय सरकारको बजेटबाट सडक निर्माण तथा स्तरोन्नतिको लागि कामले निरन्तरता पाइरहेको हो । कैलाश गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत् विभिन्न खण्डमा सडक स्तरीकरणको काम जारी रहेको छ भने थाहा नगरपालिकाबाट कैलाश गाउँपालिकाका विभिन्न वडा हुँदै धादिङ जोड्नको लागि गैरीगाउँ, गोगने पकने डाँडाखर्क सडक निर्माणको लागि ठेक्का आह्वान गरिएको छ ।
गैरीगाउँ–डाँडाखर्क सडकको लागि सडक विभागले केही समयअघि मात्रै ४० करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको छ । यस्तै, ५ र ६ नम्बर वडाका नागरिकलाई गाउँपालिका केन्द्र कालिकाटारसम्म आउन छोटो दूरीको सडक निर्माण गर्नको लागि गाउँपालिकाले गोगने–कालिकाटार सडक निर्माणको लागि केही समयअघि मात्रै ठेक्का आह्वान गरेको छ । सो सडक निर्माणको लागि गाउँपालिकाले एक करोड ३७ लाख रुपैयाँ बजेट अनुमान गरेको अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए ।
सालबास–सानो डाँडाखर्क–छ्याङदुङ सडक निर्माण र क्रिश्चियन चोकदेखि म¥याङकोट खोला सडक स्तरीकरणको लागि पनि ठेक्का आह्वान् भइसकेको गाउँपालिकाका अध्यक्ष मुक्तानले जानकारी दिए । चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत्को नामटार–खुमलटार सडक स्तरीकरणको काम करिब अन्तिम चरणमा रहेको छ । माटो कटिङ, ग्याबिन वाल, स्टोन मेशिनरीलगायतको काम गर्न ३ करोड ९४ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेकोमा धमाधम काम भइरहेको छ । सडक फराकिलो बनाउने पर्खाल लगाउने कामका लागि संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र प्रदेश सरकारको ७० लाख गरी बितेको वर्षमा एक करोड ४० लाख रुपैयाँ बराबरको काम भएको र बाँकी रकम यसवर्ष पालिकाले बेहोर्ने उनको भनाइ छ ।
बहुवर्षीय योजनाअन्तर्गत् १८ महिनामा सम्पन्न गर्नेगरी आयुश्री बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग ठेक्का सम्झौता गरी काम भइरहेको हो । यसैगरी, चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत कुमल्टारदेखि बनझाँक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिको काम पनि एक महिनाअघिदेखि धमाधम भइरहेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत्को पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता÷आकृति मालिका÷गोले जेभी हेटौंडा–१ ले कूल १४ करोड २१ लाख २९ हजार ५ सय ९० रुपैयाँमा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।
त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटरको दूरीमा रहेको छ । चुनियाँ–नामटार– कालिकाटार सडक २०३७ सालदेखि चलन चल्तीमा रहेता पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । अब भने त्रिभुवन राजपथबाट गाउँपालिका कार्यालयसम्म सहज आवागमनको लागि सडक स्तरीकरणलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।







