प्रहरी असई सुवेदीको ‘आत्महत्या’ शंकास्पद, परिवारले दियो जाहेरी

साझाकुरा
२०८० कार्तिक २२, बुधबार ११:२४

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका घर भएका प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर सुवेदीको आत्महत्या घटना शंकास्पद बनेको छ ।घटना स्थलमा मृतक सुवेदीको शवको अवस्था, शरीरमा देखिएको निलडामले उनको ‘आत्महत्या’ नभई हत्या भएको हुन सक्ने देखिएको छ । मनहरी–७ बिजौना घर भएका सुवेदी मंगलबार बिहान साढे ६ बजे हेटौंडा–११, नवलपुरस्थित सहिद स्मारकमाथि वनदेवी मन्दिुर नजिक जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका थिए । स्थानीयले मानिस झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सुवेदी बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री युवराज दुलालका अंगरक्षक हुन् । प्रहरी सहायक निरीक्षक पदमा कार्यरत् सुवेदीको दुई छोरी र एक श्रीमती छन् । उनका दुई छोरीहरु हेटौंडामा बसेर पढ्दै आएका थिए । मृतक सुवेदीको आफन्तका अनुसार उनको घरमा कुनै समस्या नभएको र आर्थिक कारोबार पनि राम्रो नै थियो । ‘उहाँको घरमा र आर्थिक समस्या भएको थाहा थिएन । सबै राम्रै थियो ।’, मृतकका एक आफन्तले भने । सामान्य अवस्थाबाट मन्त्रीको अंगरक्षकको रुपमा जागिरे जीवन बिताउँदै आएका सुवेदीको आत्महत्या शकांस्पद बनेसँगै परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको छ ।

परिवारले आत्महत्यामा शंका उत्पन्न भएको भन्दै जाहेरी दिएपछि परिवारले अनुसन्धान अघि बढाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ‘परिवारबाट जाहेरी आएको छ । जाहेरी आएपछि शव पोष्टमार्टम गरिएको हो । आज (मंगलबार) साँझ शवको दाहसंस्कार गरिँदैछ ।’, डिएसपी भण्डारीले साँझ साझाकुरासँग भने । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । पोष्टमार्टम भइसकेको र रिपोर्ट आउन समय लाग्ने डिएसपी भण्डारीले जानकारी दिए ।

अंगरक्षक मृत्यु भएको घटना बुझ्न पुगेका भौतिक पूर्वाधार तथा योजनामन्त्री दुलालले प्रभावकारी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले अनुसन्धानमा आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको मृतक सुवेदीको परिवारले जानकारी दिए । मकवानपुर प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको डिएसपी भण्डारीले बताए । डिएसपी भण्डारीले सुवेदीको आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए । ‘प्रारम्भिक अनुसन्धान सकिएको छ । पोष्टमार्टम रिपोर्ट नआई भन्ने सकिने अवस्था हुँदैन । अनुसन्धानको विषय भएकाले मैले अहिले नै यही हो भनेर भन्न मिल्दैन ।’, भण्डारीले भने ।

मृतकका भाइ इन्द्र सुवेदीले घटना शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरे । मृतक सुवेदीले आफूले लगाएको पेटी खोलेर त्यसैलाई पासो बनाई रुखमा झुण्डिएको प्रहरी अनुसन्धानले देखाएको छ । तर, पेटीमा झुण्डिएको उनको शरीरको आधा भाग जमिनमा लत्रिएको छ । पासो लगाउँदा पेटी पनि सग्लै अवस्थामा हुनु र शरीर जमिनमा लत्रिनुले शंकास्पद बनाएको छ । मृतक सुवेदीको शरीरको विभिन्न भागमा नीलडाम देखिएको भन्दै परिवारले घटना शंकास्पद मानेको हो । एक आफन्तकाअनुसार सुवेदीको खुट्टामा रातो डाम रहेको छ ।

आफन्तकाअनुसार मृतक सुवेदीको घाँटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको छ । सुवेदी सोमबार साँझ साढे ६ बजे घटनास्थल तल रहेको सहिद स्मारक गेटबाट अगाडि बढेको सीसीटीभी फुटेजबाट देखिएको उनको परिवारले जानकारी दिएको छ । स्मारक गेटबाट उनी सिधै उत्तरमा अर्थात जंगलतर्फ हतारहतार हिँडेको सीसीटिभी फुटेजमा देखिएको छ । सुवेदी स्मारकबाट निस्किएर पश्चिमतर्फ (हेटौंडा बजारतर्फ) आउनुपर्नेमा उत्तरतर्फ अर्थात जंगल क्षेत्र किन हिँडे भन्ने विषय नै शंकास्पद छ । सुवेदी सरकारी क्वाटरमा बस्दै आएको उनको परिवारले जनाएको छ । साँझमा डिउटी सकिएपछि क्वाटरतर्फ जानुपर्ने उनी स्मारक कसरी र किन पुगे ? भन्ने विषय शंकास्पद छ । उनको साथमा पर्स पनि नभएको पाइएको छ ।

पत्रकार ढकालको हत्या घटनासँग मिल्दोजुल्दो

प्रहरी असई सुवेदीको आत्महत्या शंकास्पद बनिरहँदा ५ वर्षअघि हेटौंडामै भएको पत्रकार मनोहर ढकालको हत्या घटनासँग मिल्दोजुल्दो देखिएको छ ।ढकालको हेटौंडा–१, भैरवडाँडामा २५ पुस २०७५ मा शंकास्पद रुपमा मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले ढकालको हत्या चार जनाले गरेको पुष्टि भएको थियो । सहिद स्मारक गेट अगाडि घर जाँदै गरेका ढकाल राप्ति पुलबाट कसरी उकालो भैरवडाँडातर्फ जंगलमा पुगे भन्ने विषय हालसम्म पनि गर्भमै छ । ढकाल जस्तै प्रहरी सुवेदी उत्तरतर्फ जंगल किन हिँडे भन्ने विषय शंकास्पद छ ।

ढकालको हातमा लगाइएको सुनको औँठी चोरी गरेर उनको हत्या गरिएको थियो । दैनिक लागूऔषध सेवन गर्ने समूहले सुन देखेपछि उनको हत्या गरेर औँठी बिक्री गरेका थिए । प्रहरी सुवेदीको साथमा रहेको पर्स नहुनुले पत्रकार ढकालकै घटनासँग मिल्दोजुल्दो रहेको शंका उत्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*