जिसस मकवानपुरको नवौं जिल्लासभा
हेटौंडा-जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार भएको छ । भदौभित्र भइसक्नुपर्ने जिल्ला सभा ढिलो गरी २० कात्तिकमा भएको हो ।सभाले जाजरकोट र रुकुममा गएको भूकम्पका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । भूकम्पबाट पीडित परिवारका लागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गर्ने निर्णय भएको छ ।
सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरेको छ भने जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको जिसस प्रमुख ललित बहादुर घलानले जानकारी दिए । यसैगरी ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ ।लागूऔषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको जिसस प्रमुख घलानले बताए । जिल्ला सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र नाम बागमतीलाई यताउता नहुने बताए । उनको राजधानी र नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्ति विवादमा आएको थियो ।
आफ्नै भनाईलाई खण्डन गर्दै उनले आफूले राजधानी र नाम फेर्नुपर्ने नभनेको र अपायक परेको मात्रै बताएको बताए । ‘प्रदेश राजधानी र नाम परिवर्तन गर्ने कुरा गरेको होइन।’, उनले भने ।प्रदेशको नाम राखिसकिएको र राजधानी बनिसकेको अवस्थामा दायाँबायाँ नहुने उनले स्पष्ट पारे । आफूले प्रदेशको राजधानी सार्छु नभनेको उनको जिकिर थियो । कात्तिक पहिलो हप्ता मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएको खबर विभिन्न माध्यमबाट बाहिर आएको थियो ।







