दुई वटा पसललाई जरिवाना
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित गरेको बजार अनुगमनको क्रममा दुई वटा पसललाई जरिवाता गराएको छ ।मंगलबार ६ वटा किराना पसलमा गरिएको अनुगमनमा दुई वटा किराना पसललाई जरिवाना गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झिरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । हेटौंडा–१० टिसिएन रोडस्थित विवेक किराना पसलले स्वीकृति नलिई किराना भनेर तरकारी बिक्री भइरहेको पाइएपछि १० हजार जरिवाना गराइएको उनले बताए । कर्राको बाबा वैद्यनाथ खाद्यान्न भण्डारमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएपछि दुई बोरा मखाना, बिस्कुट, मस्यौरा, च्यापति, सुप, पापड जफद गरिएको छ ।
बिल विजक नभएकोले बाबा वैद्यनाथलाई ५ हजार जरिवाना तिराइएको चापागाईले जानकारी दिए । प्रशासनले सोमबार पनि बजार अनुगमन गरेर कानुनविपरित सञ्चालनमा रहेका पसलहरुलाई जरिवाना गराएको थियो । प्रशासले १९ कात्तिकमा बजारमा कालोबजारी भए, अखाद्य वस्तु बिक्री भइरहेको पाएमा सम्पर्क गर्न अनुरोध गरेपछि मंगलबार सर्वसाधारणले सूचना दिएका थिए । सोही सूचनाको आधारमा प्रशासनको टोली बजार अनुगमनमा निस्किएको थियो ।
सहायम प्रमुख जिल्ला अधिकारी चापागाईका अनुसार बजारमा बढ्दो चिनीको अभाव भएको गुनासो आएपछि गरिएको अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रमा रहेको दुई वटा पसलबाटमा मात्रै २ सय ८३ बोरा चिनी भेटिएको र उक्त चिनी बजारमा नियमित रुपमा विक्री वितरण गर्न निर्देशन समेत दिइएको छ । अनुगमन टोलीले अनुगमनका क्रममा १ पसलबाट ७ हजार ९ सय ३० रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान बरामद गरेको छ ।







