थाहामा दुईसय घर लाभान्वित हुने खानेपानी आयोजनाको शिलान्यास
हेटौंडा- थाहा नगरपालिका वडा नम्बर–१२ मा लिति खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले एक समारोहबाकीच आयोजनाको शिलान्यास गरेका छन । लिति खानेपानी आयोजनाको साँझेदार संस्था च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतिक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेसहितको विशेष उपस्थितिमा नागदहस्थित रिजर्भ भ्वायर ट्यांकी शिलान्यस गरेर आयोजनाको सुरुवात गरिएको हो । वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल, कुण्डलीलगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट २ सय ५ भन्दा बढी परिवार लाभान्वित हुने च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए ।
२ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपैयाँ लागत अनुमान रहेको आयोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको च्वाइस नेपालका कुलप्रसाद तिवारीले जानकारी दिए । नगरपालिकाको तर्फबाट आयोजनाका लागि ६० लाख लगानी रहने छ । गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्ति गरिने थाहा नगर उपप्रमुख भरत गोपालीले बताए । नागरिकलाई खानेपानीको अभाव हुन नदिन सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा खानेपानी आयोजनाहरु निर्माण थालिएको उपप्रमुख गोपालीको भनाइ छ ।
करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट वितरणका लागि पानी ल्याइएको छ । यसअघि एउटै धाराबाट १० देखि १५ परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको यस क्षेत्रमा आयोजना सम्पन्न भए पश्चात सहजै खानेपानी आपूर्ति हुने लिति खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए । उनले घरघरमा धारामा पानी आउने भएपछि खुशी व्यक्त गर्दै पानीका लागि श्रमदान गर्न तयार रहेको बताए । खानेपानी आयोजनाको शिलान्यासको अवसरमा आयोजनाका लागि च्वाइस नेपाल मार्फत सहयोग गर्ने हिलिङह्याण्ड फाउण्डेशनमा आवद्ध विदेशीहरुले श्रमदान समेत गरेका थिए ।







