हेटौंडाका पोखरेल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष
हेटौंडा- युवा जलविद्युत उद्यमी सुशील पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।हेटौंडाका पोख्रेल कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन–२०२३’ बाट उपाध्यक्षमा चयन भएका हुन् । पोख्रेल जलविद्युत तथा स्वच्छ ऊर्जा विकासमा लामो समय अनुभवन बटुलेका व्यक्ति हुन् । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नेछन् । विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत मञ्चमा नेपालको यो ऐतिहासिक उपलब्धि भएको कम्पनीको भनाइ छ । पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दीगो जलविद्युत विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका थिए ।
उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबल रुपमा अगाडि बढाउने बताए । ‘दीगो जलविद्युत मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत आयोजनाहरु प्रमाणीकरण भएका छन ।’, उनले खुशी व्यक्त गरे, ‘यसले हामीलाई हरित ऊर्जा विकासमार्फत् दीगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरु प्रदान गरेको छ ।’, दीगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म १००० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने अभियानमा छन् । उनी बिजबेल कम्पनी मार्फत् मध्य तथा दक्षिण एसियामा हरित ऊर्जामार्फत् दीगो भविष्य निर्माण गर्ने अभियानमा रहेका छन् ।
बालीमा ३ दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९०० भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कुटनीतिज्ञ तथा जलविद्युत क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता थियो । सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्र’ले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत् न्यून कार्बनयुक्त अर्थतन्त्र एवम एकीकृत जलविद्युत विकास गर्नुपर्नेमा जोड दिएको छ । आईएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।







