वडा अध्यक्षद्वारा सुत्केरीलाई सहयोग
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले सुत्केरी महिलालाई पोषिलो आहार उपलब्ध गराएका छन् । पोषिलो आहारको अभावमा आमा र बच्चामा पर्ने स्वास्थ समस्यालाई मध्यनजर गर्दै तिमल्सिनाले सुत्केरी पोषण कार्यक्रम सुरु गरेका हुन् । वडा अध्यक्ष तिमल्सिनाले आफ्नो व्यक्तिगत खर्चमा सुत्केरीलाई पौष्टिक खानेकुरा सहयोग गर्दै आएका छन् । उनले सुत्केरीलाई लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरु र साबुन सहयोग गर्ने गरेको बताए ।
तिमल्सिनाले वडा नम्बर–८ शान्तिपुरकी सुमिता घलानलाई पोसिलो खानेकुरा प्रदान गरे ।हालसम्म वडा भित्रका ६ जना सुत्केरीलाई अध्यक्षले आफ्नै खर्चमा पौष्टिक आहार सहयोग गरेको अध्यक्ष तिमल्सिनाले बताए । आफूले गरेको सहयोगले केही राहत पुगेपनि बच्चा र आमाप्रति परिवारले गर्ने लगानीलाई अनावश्यक खर्च नभई लगानीको रुपमा लिनुपर्ने अध्यक्ष तिमल्सिनाले बताए ।







