‘मामाघर’लाई डिम्डुङ परिवारको सहयोग
हेटौंडा- पूर्वसडक बालबालिकाहरुको व्यवस्थापन गर्दै आइरहेको मामाघर नेपाललाई नगद र जिन्सी सहयोग उपलब्ध भएको छ । हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई हेटौंडा–१ चौकिटोल घर भई हाल अमेरिका बस्दै आएका श्याम लामा डिम्डुङ र कृष्ण डिम्डुङले नगद र जिन्सी सहयोग गरेका हुन् ।
नेपालका सितोरियो करातेका खेलाडी डिम्डुङले सडक जीवनबाट संस्थागत जीवन बाँचिरहेका पूर्वसडक बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगद ३५ हजार पाँच रुपैयाँ र कपडा सेट १२ थान उपलब्ध गराएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए । विगत १२ वर्षदेखि स्थापना भई पूर्वसडक बालबालिकाहरुको व्यवस्थापन गर्दै आइरहेको मामाघर नेपाल मकवानपुर स्थानीय दान, चन्दा, उपहार र सहयोगमा सञ्चालित छ ।







