सञ्चालनको अन्तिम तयारीमा हेटौंडाको धुलो दूध कारखाना

हेटौंडा- हेटौंडामा तीनवर्ष लगाएर निर्माण गरिएको धुलो दूध तथा बटर उत्पादन गर्ने कारखाना संचालनको तयारी अवस्थामा पुगेको छ । किसानले उत्पादन गरेको दूध बिक्रीमा समस्या आउन नदिनका लागि स्थापना भएसँगै सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।हेटौंडा–१० स्थित सिसौघारीमा २ बिगाहा जग्गामा बागमती प्रदेश सरकारले कारखाना निर्माण गरेको हो । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश दुग्ध विकास बोर्डको ४७ करोड रुपैयाँको लगानीमा धुलो दूध कारखाना स्थापना गरिएको हो । एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्रा प्रालिसँग २०७७ पुस १ गते ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएता पनि
कोरोना महामारी र अन्य विविध कारणले तीन पटक म्याद थप गरी कारखाना तयार गरिएको हो ।
सुरुमा ४१ करोड २२ लाख रुपैयाँ अनुमान गरिएता पनि पछि काम बढेकाले कारखानाको लागत ४७ करोड पुगेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले जानकारी दिए । कारखाना दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमताको रहेको छ । नियमित रुपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिकटन र प्रतिवर्ष एक हजार पाँच सय मेट्रिकटन धुलो दूध उत्पादन हुने अनुमान गरिएको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाले बताए । धुलो दूध कारखाना निर्माण अन्तिम चरणमा रहँदा पनि यो कारखाना कसरी सञ्चालन गर्ने ? र जनशक्ति व्यवस्थापन र अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा निक्र्यौल भने भइसकेको छैन । संचालन मोडालिटी तयार नभएकोले तत्काल संचालनमा आउने सम्भावना नरहेको बताइएको छ ।
जाडो महिनामा दूध उत्पादनमा कमी आउने भएकोले पनि तत्कालै पाउडर प्लान्टका लागि आवश्यक दूध आपूर्ति हुने सम्भावना ज्यादै न्यून रहेको किसानहरुले बताएका छन् ।
आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा परीक्षण उत्पादन सुरु गरिएको ठेकेदार कम्पनीले जानकारी दिएको छ । भौतिक निर्माण र जडानको काम सबै सकिएको तथा मेसिनहरुमा पानी राखेर परीक्षण गरिरहेको निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले बताए । पानी, ग्यास र हावा राखेर पालैपालो परीक्षण गरी सफल भएपछि दूध हालेर धुलो दूध र बटर उत्पादन सुरु हुने उनले बताए । कारखाना तत्काललाई डीडीसी मातहत सञ्चालन गर्नेगरी छलफल भइरहेको छ ।
दुग्धपदार्थमा नेपाल आत्मनिर्भर भएपनि भारतीय कम्पनीका दुग्ध पाउडर अनधिकृत रुपमा आयात भइरहेको किसानहरुले बताएका छन् । दूध उत्पादनको हिसावले ड्राई सिजनमा धुलो पाउडर मिसाएर दूध आपूर्ति गर्ने गरिएको छ । नेपालमा उत्पादन भएको पाउडर दूधको बजार खोजी गर्दै निजी डेरी संचालकहरु केही समय अघि बंगलादेश पुगेका थिए । तर, बंगलादेशले युरोपियन मुलुकबाट नेपालमा उत्पादन भएको रमक भन्दा सस्तोमा उपभोग गरिरहेको थाहा पाएपछि नेपालका डेरी संचालकहरु निराश भएर फर्किएका थिए ।
प्लान्ट पूर्णरुपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिने बताइएको छ । प्लान्टमा वागमती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुने बताइएको छ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार पशुपालक परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ । कृषकहरुबाट दैनिक ६० हजार लिटर दूध खरिद गरिने जनाइएको छ । कृषकले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिकटन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको छ । उद्योगबाट निस्कने फोहर सबै ट्रिटमेन्ट गरेर मात्र खोलामा छाडिने भएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशलाई दूध र माछामासुमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम अघि सारेको थियो ।मन्त्रालयका अनुसार प्लान्ट सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८० जनाले रोजगारी पाउने छन् । प्लान्ट सञ्चालनका लागि आवश्यक प्राविधिक कर्मचारी तथा अन्य अप्राविधिक कर्मचारीले रोजगारी पाउने मन्त्रालयले जनाएको छ । राप्तीकिनारमा स्थापना गरिएको उद्योगसँगै पशुआहारा उत्पादन गर्ने क्याटल फिड इण्डस्ट्रिज पनि सरकारी स्वामित्वको उद्योग हो ।
चक्लेट क्याटवरी उद्योग स्थापना, बाच्छी श्रोतकेन्द्र स्थापना, बिपन्नलाई गाइभैंसीपालनमा निब्र्याजी ऋण प्रबाह लगायतका कार्यक्रम प्रदेश सरकारले अघि सारेको थियो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै कृषि क्षेत्रका अभियन्ताहरुले सकारात्मक मानेका थिए । दूध उत्पादन गर्ने किसानलाई २ रुपैयाँ अनुदान कार्यक्रमले किसान यसतर्फ थप आकर्षित भएका छन् ।