सामाजिक सुरक्षामा आबद्ध हुन भीमफेदीले माग्यो आवेदन

साझाकुरा
२०८० कार्तिक २५, शनिबार १४:२०

हेटौंडा-भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन माग गरेको छ ।गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन हुन गइरहेकाले सहभागी हुन सूचनामार्फत आह्वान गरेको हो । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार यस योजनामा सहभागी हुन इच्छुक श्रमिकले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दर्ता गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिलाई डकर्मी, सिकर्मी, लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जीबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु यस योजनामा सहभागी हुनसक्ने पालिका अध्यक्ष लामाले बताए । अध्यक्ष लामाले गाउँपालिकाको साझेदारी लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी भई आफ्नो भविष्य सुरक्षित गर्नका लागि पालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई आग्रह गरेका छन् ।

यस योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरुले सम्पर्क नम्बरसहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनि गरेको सिफारिसपत्र, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणापत्र, चेकको प्रतिलिपि बुझाउनुपर्ने पालिकाले सूचनामा भनेको छ ।

स्वरोजगार व्यक्तिको लागि सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, पेशा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र दर्ता नभएको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, प्यान वा करदर्ता प्रमाणपत्रको प्रतिलिपि, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने मध्ये दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।

भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताको लागि भीमफेदी गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोषबीच सम्झौता भए बमोजिम कार्य अघि बढेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले योजनामा सहभागी हुन पूरा गर्नुपर्ने विभिन्न आवश्यक मापदण्डहरुबारे सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिलाइ जानकारी समेत गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*