मकवानपुरमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

साझाकुरा
२०८० कार्तिक २५, शनिबार १४:२४

हेटौंडा-शान्तिसुरक्षाको दृष्ट्रिकोणले जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रवार एक विज्ञप्ती जारी गर्दै राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरेको हो ।प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न र सो समय पश्चात अनिवार्य रुपमा बन्द गर्ने निर्देशन गरेको छ ।

त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ । प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न आग्रह गरेको हो ।

जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरु नगर्न, सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरु नगर्न विज्ञप्तीमार्फत नागरिकहरुमा अनुरोध गरेको छ । त्यस्तै २०७९ साउन ११ मा वन तथा वातावरण मन्त्रालयले देशैभर र प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएकाले यस्ता कार्य नगर्न अनुरोध गरेको छ । प्रतिबन्धित कार्यहरु वा प्रचलित कानुन वितरितका गतिविधि र क्रियाकलाप सञ्चालन गरेको खण्डमा कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*