बागमतीमा दुर्घटनाबाट २३ जनाको मृत्यु, जुवा खेल्ने १०८ जना पक्राउ

दसैं–तिहारभित्र
साझाकुरा
२०८० मंसिर ३, आईतवार १०:५३

हेटौंडा- २०८० सालको नेपालीहरुको महान चाड दसैं र तिहार सकिएको छ । छठ पर्व आज आइतबार तराईदेखि पहाडसम्म मनाईंदैछ ।हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा दसैं र तिहारमा दुर्घटना र अन्य अपराधका घटनाले कतिपय परिवार दुःखमा छन् । चाडपर्वमा सवारी साधनको चाप बढ्नु, लापरबाहीसँग सवारी चलाउनुलगायत कारणले दुर्घटना बढी हुने गर्दछन् । चाडपर्वमै अपराधका घटना पनि बढ्ने गरेको छ । २०८० सालको दसैं र तिहारमा मकवानपुर जिल्लासहित बागमती प्रदेशको १० जिल्लामा (काठमाडौं उपत्यकाबाहेक) सामान्य दिनमा भन्दा बढी दुर्घटना र अपराधका घटना भएको प्रहरी तथ्यांक छ ।

दसैं र तिहार यता बागमती प्रदेशमा १ सय ५६ वटा सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रदेश प्रहरीका अनुसार उपत्यकाका ३ जिल्ला बाहेक प्रदेशका १० जिल्लामा दसैं, तिहार जस्ता चाडपर्वको समयमा भएका एक सय ५६ वटा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनाबट तीन सय ५१ जना घाइते भएका छन् । प्रहरीले चाडपर्वका बेला जाचँ गर्दा ५९ हजार ७ सय ३२ वटा सवारी कारबाहीमा परे । जसबाट चार करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजस्व संकलन गरेको छ ।

दसैंभर मकवानपुरसहित बागमती प्रदेशमा १७ को मृत्यु भएको थियो । दसैंपछि तिहारसम्म आइपुग्दा दुर्घटनाबाट थप ६ जनाको मृत्यु भएको पाइएको छ । मकवानपुरमा मात्रै विजयादशमी (दसैं)को कात्तिक १ देखि ११ गतेसम्म सवारी दुर्घटना र अन्य घटनामा गरी चार जनाको मृत्यु भएको थियो । दसैंमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटना बाहेकको घटनामा भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको थियो ।

मकवानपुरमा दसैंको एक साता अवधिमा १४ वटा सवारी दुर्घटना भएको थियो । मकवानपुरमा गतवर्षको दसैंमा भएको सवारी दुर्घटनाको अवस्थालाई हेर्दा यसवर्षको दसैंमा बढी दुर्घटना भएको छ । गतवर्षको दसैं अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए ।यसैगरी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरीवरिष्ठउपरीक्षक दीपक रेग्मीले बागमती प्रदेशका १० जिल्लामा यस अवधिभित्र ३ सय ९ वटा अपराधका घटना दर्ता भएको जानकारी दिए । ती घटनामा संलग्न १ सय ९९ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला नागरिकलाई सहज सेवा दिन बागमती प्रदेशका १० जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको रेग्मीले बताए । प्रतिबन्धित जुवा खेल्ने क्रममा १ सय ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कानुनअनुसार पैसाको हारजित हुने गरी कुनैपनि प्रकारको जुवा खेल्न प्रतिबन्ध छ । तर, चाडपर्वको मौका छोपेर मकवानपुरसहित बागमती प्रदेशका जिल्लाहरुमा जुवा खेल्ने गरिन्छ । चितवन, मकवानपुर, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा खेल्ने क्रममा १ सय ८ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट १६ लाख ८९ हजार ५ सय २९ रुपैयाँ बरामद गरी कानुन बमोजिम अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेशमा चाडपर्वको मौका छोपेर भन्सार छलेर ल्याइएको अवैध चिनी १२ क्विन्टल ९ सय ६५ केजी बरामद भएको छ । चिनी भारतमा सस्तो र नेपालमा अत्याधिक महंगो भएकाले यसको कालोबजारी फस्टाइरहेको छ । अवैध रुपमा ओसारपसार गर्दै गरेको ९ लाख ४६ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र साडी प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुर, चितवन र सिन्धुलीमा चाडपर्वको बेला ५ बोरा, ४४ पोका र ४ सय ५२ प्याकेट पटका तथा विस्फोटकपदार्थ बरामद गरेको छ ।

४४० जनाको यात्रु ठगिनबाट जोगिए

बागमती प्रदेश प्रहरीको सक्रियताका कारण ४ सय ४० जना यात्रु भाडारकम ठगिनबाट जोगिएका छन् । चाडपर्वको मौकामा यात्रुहरु अत्याधिक ठगिने गरेका छन् ।प्रदेश प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनबाट रकम फिर्ता गराएको छ । दसैं, तिहार र छठ पर्वको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि बढी भाडा लिएबापतको रकम फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चाडपर्व अवधिभर ५८ सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा वापत एकलाख १३ हजार ६ सय ७० रुपैयाँ फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एसएसपी रेग्मीले जानकारी दिए । बागमती प्रदेश मातहतका जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*