सिआनमा कार्कीले छोडे, अग्रवाल आए
हेटौंडा- हेटौंडा–९ लामसुरेमा रहेको सिआन पुनस्थापना केन्द्रको सातौं वार्षिक साधारणसभा तथा अधिबेशनले अध्यक्षमा बिजेन्द्र अग्रवाललाई चयन गरेको छ । शनिबार अपरान्ह भएको साधारणसभाले ४ वर्षे कार्यकालका लागि अग्रवालको अध्यक्षतामा ९ सदसीय नयाँ नेतृत्व चयन गरेको हो । अग्रवाल यसअघि केन्द्रको उपाध्यक्ष पदमा रहेर काम गर्दै आएका थिए ।
केन्द्रको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका लामा, सहसचिवमा ओम फुँयाल, कोषाध्यक्षमा मन क्षेत्री, सदस्यहरुमा अनिश दाहाल, सुभेच्छा कार्की, मिनु अग्रवाल, बिनोद आचार्य चयन भएका छन् । निर्वाचन मण्डलका संयोजक एबम् मामाघर नेपालका प्रमुख अर्पण पराजुलीले नयाँ नेतृत्वको घोषणा गरेका थिए । शम्भुसिंह कार्कीको सभाध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले सिआनले हजारौं घरपरिवारको पीडामा मल्हम लगाउने काम गरिरहेको बताए ।
पुनस्थापना केन्द्रबाट उपचारपश्चात परिवारमा पुगेका युवालाई राज्यले रोजगारी दिनुपर्ने सांसद सिंहले बताए । विद्यालय तह पार गर्दै गरेका अब्बल विद्यार्थी अमेरिका, युरोप र अष्ट्रेलिया जाने, कमजोर युवा खाडीमा श्रम गर्न जाने र बाँकी स्वदेशमा बसेका युवा पनि कुलतमा लाग्दा समाज अँध्यारोमा धकेलिन पुगेको सांसद सिंहले बताए ।
प्रतिनिधि सभासदस्य बिन्दबासिनी कंसाकारले कुलतको समस्या घरघरमा रहेको र त्यस्ता समस्यालाई लुकाएर पीडा सहेर नबस्न आग्रह गरिन् । कार्यक्रममा प्रदेशसभा सदस्य ज्ञानुजंग लामाले नेपालमा १० लाख युवा कुनै न कुनै कुलतमा फसिरहेको बताए । वागमती प्रदेशमा रहेका ९० भन्दा बढी सुधारगृहमध्य सिआन पहिलो नम्बरमा आउन सफल रहेको प्रदससभा सदस्य लामाले बताए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष कार्कीले संस्थाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष तानियाँ अग्रवालले करिव ७३ लाख रुपैयाँको आयब्ययको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । केन्द्रले ७ वर्षको अवधिमा एक हजार आठ सय ८७ जनाको उपचार गरेको र हाल ४३ जना केन्द्रमा रहेको अध्यक्ष कार्कीले बताए । मकवानपुरमा करिव १२ हजार युवा बिभिन्न खालको दुब्र्यसनीमा लागेको र त्यसमध्ये २३ प्रतिशत महिलाको संख्या रहेको बताइएको छ ।
साधारणसभाको अवसरमा केन्द्रको स्थापनाकालदेखि समाचार लेखन गरी सहयोग पु¥याएको र दोस्रो पटक साहसिक रुपमा मेचीमहाकाली साइकलयात्रा सम्पन्न गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई कदरपत्रले सम्मानीत गरिएको थियो । त्यस्तै केन्द्रको स्थापनाकालदेखि नै उल्लेखनीय योगदान दिएको भन्दै हेटौंडा–९ का निवर्तमान वडाध्यक्ष लक्ष्मण भण्डारी, संस्थाका पूर्वकर्मचारी किरण लामालाई पनि साधारणसभाको अवसरमा सम्मानीत गरिएको थियो ।
केन्द्रले लागूऔषध दुब्र्यसनीको उपचार गर्ने मात्र नभई र बिभिन्न स्थानमा जनचेतना अभिवृद्धिका कार्यक्रम समेत गर्दै आएको केन्द्रका प्रमुख सौजन डीसीले बताएका छन् । लागुऔषधको नशामा डुबेका युवाहरुको उद्धारमा काम गर्न चुनौतीपूर्ण रहेको उनले बताए । केन्द्रमा सामाजिक, मानसिक र व्यवहारिक ज्ञानसँगै सीप र आर्थिक उपार्जनको माध्यमसँग जोड्न बिभिन्न तालिम संचालन गराइएको डीसीले बताए ।







