नगर प्रहरीद्वारा बरामद मिठाई र तरकारी नष्ट

साझाकुरा
२०८० मंसिर ३, आईतवार ११:०२

हेटौंडा-बजारमा बिभिन्न कामका लागि आउने मानिस हिड्नका लागि प्रयोग हुने फुटपाथमा बिक्रीका लागि राखेको सामग्री नगरप्रहरीले बरामद गरी नष्ट गरेको छ ।चाडवाडको सयममा पैदलयात्रीलाई बाटो छेकेर फुटपाथमा बिक्रीका लागि राखेको मिठाई, फलफूल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले शुक्रबार नष्ट गरेको हो । हेटौंडा–१० राप्तीखोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । नगरप्रहरीले असोज र कात्तिक महिनामा पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम फुटपाथबाट जफत गरेको थियो । यसरी अनाधिकृत रुपमा राखिएका सामग्री नष्ट गरेको बताइएको छ ।

मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचोक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिइएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट बिक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगरप्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए । उपमहानगरले पटक÷ पटक सार्वजनिक सूचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर बिक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गर्न थालेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*