जनस्तरबाट बज्रबाराही मन्दिरको संरक्षण गरिने

हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–६, मा रहेको शक्तिपीठ वज्रवाराही मन्दिरको संरक्षण र प्रवद्र्धन जनस्तरबाट गरिने भएको छ ।वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहानगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रुपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपैयाँको लागतमा गरिएको थियो ।
पहिले नमिलेको वज्रवाराही मन्दिर जाने सिँढी इन्जिनियरको सहयोगमा मर्मत गर्न समाजसेवी नारायणबहादुर जोशीले मात्र झन्डै ३० लाख रुपैयाँ खर्चेको थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठले मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्यस्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचना बनाउने तयारी थालेको बताए । डिपिआर अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही मन्दिरको नाममा रहेको वज्रवाराही वनको टुप्पोमा मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माण गरिने भएको छ ।
मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माणका लागि करिब डेढ करोड रुपैयाँको लागत अनुमान गरिएको छ । हाल मन्दिर फेदीमा रहेको र टुप्पोमा मन्दिर थियो भन्ने विश्वास र आस्थाका साथ पुज्ने गरिन्छ । ८० फिट अग्लो मूर्ति राख्ने र मन्दिरसम्म पुग्न ८०६ वटा सिँढी निर्माण गर्ने तयारी गरिएको छ । ‘हाल माटोको सिँढी रहेकोमा अब ढलान गरेर लैजाने तयारीमा छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘जंगलको टुप्पोसम्म पुग्ने सिँढी भने एक घर–एक सिँढीको अवधारणामा बनाउने छौँ ।’
उनले एउटा सिँढी बनाउन पाँच÷छ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको र निर्माण सामग्री ढुवानी खर्च धेरै लाग्ने भएकाले लागत बढी भएको जानकारी दिए । वज्रवाराही वनको डाँडाको टुप्पोमा प्रतिस्थापन गरिने मूर्तिका लागि प्रदेश र स्थानीय सरकारलाई साझेदारीका लागि आग्रह गरिने बताउँदै उनले थप संरचना निर्माणपछि त्यस क्षेत्रको गतिविधि बढ्ने बताए । स्थानीय प्रमोद जोशीका अनुसार हाल वज्रवाराही वनको फेदीमा रहेको वज्रवाराही मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा रहेको र गुडेर आएर अहिलेको अवस्थामा रहेको भन्ने किंवदन्ती पाइन्छ । मन्दिरमा हरेक तीन वर्षमा वैशाख चण्डीपूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ ।