हेटौंडा–इनरुवा प्रसारण लाइनको निर्माण छिटो सक्न निर्देशन

साझाकुरा
२०८० मंसिर ४, सोमबार ११:४६

हेटौंडा- मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा चारसय केभी डवल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध रहेको छ । झन्डै नौ वर्षअघिदेखि निर्माण सुरु भएको यो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै पाँच अर्ब रुपैयाँ बराबरको बजेट आवश्यक छ । यस्तै, निर्माण व्यवसायीलाई थप पाँच अर्ब रुपैयाँ बराबरको बजेट आवश्यक देखिएको छ ।

यस आधारमा यो आयोजनाका लागि कूल १० अर्ब रुपैयाँ बराबरको थप बजेट आवश्यक देखिएको उनले जानकारी दिए । प्रसारण लाइनको दायाँबायाँ ४६ मिटर रहने भएकाले पनि मुआब्जा बापतका लागि ठूलो बजेट जरुरीरहेको छ । अवरोधै अवरोधकाकारण आयोजनालाई गति दिन समस्या भएको छ ।आगामी चार महिनाभित्र यो प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गर्नैपर्ने बाध्यतामा प्राधिकरण रहेको छ । ‘जताततै समस्या छ, समाधानका लागि गरिएको प्रयाससमेत सार्थक हुन सकेको छैन’,–कार्यकारी निर्देशक घिसिङले भने, ‘सप्तरी र सिरहामा नापी र मालपोत कार्यालयले समेत आवश्यक सहजीकरण नगरिदिएका कारण झनै समस्या भएको छ ।’

मकवानपुरको हेटौंडा–११ थानाभयाङ सवस्टेसनबाट सुरुभई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वनक्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादन लगायत कारणले निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाइ निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन ।

रणनीतिक महत्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केवर सवस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन । अहिले ढल्केवरबाट पश्चिमतर्फ एक सय ३२ केभी प्रसारण लाइन मात्रै चालु अवस्थामा छ ।पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने दुई सय ८८ किलोमिटर प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये सातसय ५७ टावरको जग हालिएको छ भने सात सय ५० खडा गरिएको छ । रुख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरुको निर्माण हुन सकेको छैन । सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्नेछ ।

हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले यो प्रसारण लाइन निर्माणमाभइरहेको प्रगतिका बारेमा चासो व्यक्त गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्ने निर्देशन दिए । उनले स्थानीय सुरक्षाकर्मीको सहयोग लिन र प्रशासनसँग मिलेर काम गर्न निर्देशन दिएस्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरुले प्रसारण लाइन मानव बस्तीबाट नलगी जंगलबाट लैजानुपर्ने माग गरेका छन् । आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रस्ट पार्दै आएको छ ।

‘माथिल्लो तामाकोशीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिरहाको लहान पडरिया क्षेत्रमा पनि प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । हेटौँडा–ढल्केबर–इनरुवा चारसय केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्रविन्दुबाट दायाँबायाँ २३–२३ मिटर हुनेछ । यो प्रसारण लाइन निर्माणपछि मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहज हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*