चौघडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६, चौघडामा आइतबार मालबाहक ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।ट्रकको ठक्करपछि महिलाको मृत्यु हुँदा स्थानीय आन्दोलित भएका थिए । स्थानीयले कान्तिलोकपथ सडक अवरुद्ध पारेका थिए । ट्रकको ठक्करबाट हेटौंडा–६, चौघडा बस्ने ३६ वर्षीया नीरा बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले बजागाईंलाई कान्तिलोकपथअन्तर्गत चौघडाको शान्तिटोलमा शिवम सिमेन्ट उद्योगबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले ठक्कर दिएको बतए ।
पैदलयात्रा गरिरहेकी बजगाईँको घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए । बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्तिलोकपथ अवरुद्ध गरेका हुन् । सडक खुलाउन घटनास्थलमा करिब एकसय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो ।पीडितपक्ष र स्थानीयले घटनाको छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।