छठ पर्वको समापन
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१ राप्तीतटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसवर्षको छठ पर्वको समापन गरिएको छ ।हेटौंडाको राप्तीतटमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेका भक्तजनले सोमबार बिहानै उदाउँदो सूर्यलाई पूजा गरेर यसको समापन गरेका हुन् । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्लपक्षको चौथी तिथिका दिनदेखि विधिवत् सुरु हुन्छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ हेटौंडामा बस्ने भोजपुरी र मैथलीभाषि हिन्दु समुदायको मुख्य पर्व हो । सूर्य र जलको शक्ति तथा महत्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खानेकुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराईक्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि हेटौंडामा पनि मनाउन थालिएको छ ।







