मर्कामा मकवानपुरका दूध उत्पादक किसान
हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २ सय ४० जना किसानबाट ४ हजार ८ सय लिटर दूध संकलन गर्दै आएको छ ।सहकारीबाट दूध संकलनमा कुनै समस्या छैन । तर, हेटौंडा दूग्ध वितरण आयोजना लगायत निजी क्षेत्रका डेरी उद्योगहरुले नियमित रुपमा दूध संकलन गर्न छोडेर हप्तामा पाँच दिन मात्र दूध संकलन गर्नु भनेर जिल्ला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड मार्फत मनकामना दुग्ध सहकारीलाई भनेपछि अहिले किसानहरुले समस्या बेहोर्न थालेका छन् ।
हप्तामा दुइ दिन दूध संकलन सहकारीले बन्द गर्नुपर्दा यहाँ दैनिक रुपमा दुइ सय लिटरसम्म दूध बिक्री गर्दै आएका किसानहरु समस्यामा परेको सहकारीका व्यावस्थापक शशीलम्सालले बताए । यस सहकारीमा दैनिक रुपमा स्थानीय किसान मुकुन्दप्रसाद दाहालले २ सय ५० लिटर, ठाकुरप्रसाद दाहालले २ सय ५० लिटर, नारायणप्रसादतिमल्सिनाले २ सय लिटर, नरेन्द्र लम्सालले एक सय लिटर, अर्जुनप्रसाद दाहालले ८० लिटर दूध बिक्री गर्दै आएका छन् । मिल्क होलिडेको समस्यामा यस सहकारीमा दूध बिक्री गर्ने यी किसान निकै समस्यामा परेका छन् ।
धेरै दूध बिक्री गर्ने किसान मात्र होइन, यस सहकारीमा दूध बिक्री गर्ने २४० जना किसान मिल्क होलिडेको समस्याले निकै नोक्सानी बेहोर्दै आएको व्यावस्थापक लम्साल बताउँछन् । मनकामना दुग्ध सहकारीमा आवद्ध किसान मात्र होइन, मकवानपुरका नौ हजार किसान ‘मिल्क होलिडे’ को समस्यामा परेका छन् । जिल्लाका बिभिन्न सहकारी संस्था मार्फत दूध बिक्री गर्दै आएका यहाँका नौ हजार किसान परिवार अघोसित रुपमा भइरहेको मिल्क होलिडेको समस्यामा परेका हुन् ।
किसानले उत्पादन गरेको दूध प्रत्येक हप्ता दुइ दिन दूध सहकारीले खरिद गर्ने कामलाई रोकेको छ । त्यसबाट मकवानपुरका किसानहरु समस्यामा परेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि दाहाल बताउँछन् । हप्तामा दुइदिन मिल्क होलिडे हुँदा एक महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने समस्याले किसानहरु चिन्तित बनेका छन् । संघले हरेक दिन ६१ वटा दुग्ध सहकारीमार्फत् दैनिक ५० हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ ।
महिनामा ८ दिन दुग्ध बितरण आयोजना लगायत निजी डेरीहरुले दूध खरिद नगर्दा मिल्क होलिडेको समस्यामा किसानहरुरहेको उनले बताए । मिल्क होलिडे हुँदा किसानले उत्पादन गरेको दूध पुनः गाइ, भैसीलाई खुवाउनुपर्ने र फाल्नुपर्ने बाध्यतामा किसानहरु रहेको उनले बताए । एक दिन दूध बिक्री गर्न नपाउँदा किसानले ७१ लाख ५० हजार रुपैयाँ नोक्सानी बेहोर्दै आएका छन् ।







