मकवानपुरमा २२ प्रतिशत जनसंख्या करको दायरामा
हेटौंडा-आन्तरिक राजस्व कार्यालय हेटौंडाले राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८० को आयोजना गरेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ मंसिर १ देखि ७ गतेसम्म करसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको कर कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
१२ औं राष्ट्रिय कर दिवस अन्तर्गत मंगलबार हेटौंडाको कर कार्यालयमा पत्रकार तथा कर कार्यालयका कर्मचारीबीच करसम्बन्धी विविध अन्तरक्रिया तथा छालफल कार्यक्रम भएको थियो । कर कार्यालय हेटौंडाले चालू आर्थिक वर्षमा करसम्बन्धी १ सय २१ पटक अनुसन्धान गरिसकेको कर अधिकृत भट्टराईले जानकारी दिए । कर दिवस यो वर्ष मात्र नभइ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइने गरेको उनले जानकारी दिए । मकवानपुरमा २२ प्रतिशत जनसंख्या करको दायरामा आएको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।
राष्ट्रिय कर दिवश तथा कर सप्ताहको अबसरमा मंगलबार मकवानपुरका संचारकर्मीबीच भएको अन्तरक्रियामा बोल्दै प्रमुख भट्टराईले जिल्लाको सरदर चार लाख ६६ हजार जनसंख्यामध्ये करिब एक लाख २ हजार ६ सय ८९ जना करदाता करको दायरामा आएको बताए ।उनले हालसम्मको करदाता दर्ता सार्वजनिक गर्दै आयकरतर्फ दर्ता भएका ३१ हजार ८ सय ५७ जना, मूल्य अभिबृद्धि करमा दर्ता भएका ५ हजार ५ सय ३१ जना, अन्तःशुल्क दर्ता एक हजार ६ सय १६ जना, डब्लु प्यानतर्फ ६ सय ६८ जना, पी प्यानतर्फ ७० हजार एक सय ६४ जना करदाता तथ्यांकीय रुपमा दर्ता भएको बताए ।
राजस्व कार्यालय मकवानपुरले आ.ब २०७९÷८० को राजस्व लक्ष्य तथा असुुलीतर्फ सात अर्व ५०करोड ३९ लाख ४२ हजार राजस्व असुलीको लक्ष्य लिएपनि ६ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुुली गर्न सफल भएको प्रमुखभट्टराईले बताए । यस्तै आ.ब २०८०÷८१ को राजस्व लक्ष्य तथा असुलीतर्फ ८ अर्ब ८० करोड ४५ लाख २४ हजार लक्ष्य राखेकोमा कात्तिक महिनासम्म २ अर्ब ४७ करोड ५९ लाख ६४ हजार राजस्व असुली लक्ष्य लिएको र एक अर्ब ८७ करोड ४६ लाख ६४ हजार राजस्व असुली भएको प्रमुख भट्टराईले बताए । यस्तै बजार अनुगमन कार्यगत लक्ष्य तथा प्रगति अनुसार आ.ब २०७९÷८० मा दुई सय ५० लक्ष्य लिएकोमा दुई सय ७६ वटा अनुगमन भएको र आ.ब २०८०÷८१ मा एक सय ५० लक्ष्य राखेकोमा एक सय २० पटक बजार अनुगमनको काम भएको बताए ।
राष्ट्रिय कर दिवस अन्तर्गत मंसिर १ गते मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा शुभकामना आदानप्रदान, ४ गते मनहरीमा करदाता शिक्षा कार्यक्रम संचालन, ५ गते पत्रकार महासंघ मकवानपुरको समन्वयमा करसम्बन्धी विविध अन्तरक्रिया तथा छलफल कार्यक्रम, ६ गते नेपाल अडिटर्स एसोसिएसन र उद्योग वाणिज्य संघको समन्वयमा विभिन्न ठाउँमा कर सचेतना कार्यक्रम र ७ गते उत्कृष्ट करदाता पुरस्कृत तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गर्दै कर सप्ताह समापन गरिने कर अधिकृत भट्टराइले जानकारी दिए ।







