सामाजिक सूचना व्यवस्थापन प्रणालीबारे तालिम
हेटौंडा- सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स) को मानव बेचबिखन मोड्युलसम्बन्धी दुई दिने तालिम हेटौंडामा गरिएको छ ।मानव बेचबिखन तथा ओसारपसारविरुद्ध तथ्यांक व्यवस्थित गर्दै कार्य प्रक्रियालाई सहज बनाउने उदेश्यले बनाइएको सिम्स कार्यान्वयनमा ल्याइएकोमा यसको प्राबिधिक पाटोमा तालिम दिइएको हो । सिम्स कार्यान्वयनको क्रममा देशभरकै स्थानीय तहमा एकीकृत रुपमा सूचना व्यवस्थापन गर्नको लागि सरोकारवालालाई कार्यक्षमता विकासको लागि तालिम दिइएको आयोजकले जनाएको छ । युएसएडको आर्थिक सहयोगमा वीन रक इन्टरनेशनद्वारा संचालित र हाम्रो सम्मान परियोजना र संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सयुक्त प्राविधिक सहयोग र शान्ति फाउन्डेसनको समन्वयमा सिम्स निर्माण गरिएको हो ।
कार्यक्रममा संघीय सरकार ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रामहरि गैरे, वीन रक परियोजनाका रत्नकाजी श्रेष्ठ, दिपेन्द्र शर्मा, तीर्थ न्यौपाने, प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) का प्रतिनिधि लिड सफ्टवेयर इन्जिनियर प्रेरिकालक्ष्मी प्रधान र संजित थारुचौधरीले सहजीकरण गरेकाथिए । कार्यक्रममा मकवानपुरको मनहरी र बकैया गाउपालिका, हेटौंडा उपमहानगरपालिका, काठमाडौंको काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, पांचपोखरी थाम्पाल र भोटेकोसी गाउँपालिका गरी ९ वटा स्थानीय तहका सूचना अधिकृत र महिला बालबालिका शाखाका कर्मचारीलाई तालिम प्रदान गरिएको शान्ति फाउन्डेसन मकवानपुर जिल्ला अधिकृत सीता गुरुङले बताइन् ।
यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला बालबालिका शाखाप्रमुख र प्रतिनिधि, शान्ति फाउन्डेसन सिन्धुपाल्चोकको जिल्ला अधिकृत श्याम गोले, मकवानपुर जिल्ला प्रतिनिधि देबकी ढुंगाना, माइती नेपाल मकवानपुर, हिरण्य नेपाल, सिविन बाल हेल्पलाइनलागयत सामाजिक संस्थाहरुको प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । तालिममा प्राबिधिक सहयोग प्रोफेसनल कम्प्युटर सिस्टमलेगरेको थियो । जिल्लाको वडातह, स्थानीय तहदेखि संघीय स्तरसम्म सिम्स मार्फत एकीकृत गर्ने प्रणालीको लागि देशको झण्डै ३ सय स्थानीय तहले सिम्स प्रणालीलाई अपनत्व गरेको उपसचिव गैरेले बताए ।
सिम्स प्रणाली मार्फत् तथ्यांक व्यवस्थापन गर्दा सबै स्तरको तथ्यांकहरु एकीकृतरुपमा रहने र अन्य कार्यमा समेत सहज हुने भएकोले सबै तहको सरकारले अपनत्व गर्नु आवश्यक रहेको शान्ति फाउन्डेसनकी अधिकृत गुरुङले बताइन् । कार्यक्रमको उद्घाटन बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रदेशस्तरीय संरक्षण नीतिलाई प्रदेशसभाबाट चाँडो पास गर्ने र यस्तो नीतिगत सवालमा काम गर्न सहज हुने मन्त्री मोक्तानले बताइन् । सिम्स प्रणाली स्थानीय तहमा कार्यान्वयनमा देखिएको समस्या बारे, प्राबिधिक सहयोग, ज्ञान, निर्देशिकाबारे जानकारी पर्याप्तता वा अभावबारे सहभागीसँग छलफल र प्रतिक्रिया आदानप्रदान समेत गरिएको थियोे ।







