थाहामा बृहत खानेपानी आयोजना निर्माण प्रारम्भ

साझाकुरा
२०८० मंसिर ७, बिहीबार १०:३७

हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी बृहत लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो । ‘एक घर एक धारा’ अवधारणा अनुसार २०५ घरलाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । उनका अनुसार वडाका सबै विद्यालय, सामुदायिक संस्था र व्यक्तिगत गरी २२१ वटा धारा जडान गर्ने योजना रहेको छ ।

दिगो विकास लक्ष्यको बुँदा नम्बर ६ सँग आधारित भई ‘एक घर एक धारा’ अभियान अन्तर्गत आयोजना निर्माण सुरु भएको भन्दै सूचना अधिकारी भुजेलले साझेदारीमा खानेपानी योजना निर्माण सम्पन्नपश्चात् थाहा नगरपालिकामा हस्तान्तरण हुने बताए । अधिकांश तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा आयोजना सञ्चालन हुन लागेको हो । लिती, नयाँबस्तीलगायत वडा नं. १२ का बासिन्दा लाभान्वित हुने गरी निर्माणाधीन आयोजनाको निर्माण लागत थाहा नगरपालिका, च्वाइस नेपाल र स्थानीय जनश्रमदान गरी दुई करोड ५९ लाख ९० हजार ५०८ रुपैयाँ रहेको छ । दुई आर्थिक वर्षमा थाहा नगरपालिकाको कुल ६० लाख रुपैयाँ लागत साझेदारी रहने छ ।

च्वाइस नेपालको थाहा नगरपालिकास्थित साइट कार्यालयका व्यवस्थापक प्रताप घिमिरेका अनुसार लिती खानेपानी आयोजनाका लागि स्थानीय मेल खोलानजिक रहेको मुहानबाट पानी ल्याएर ट्यांकीमा संकलन गरी वितरण गरिने छ । उनले आयोजनाबाट स्वास्थ्य संस्था र विद्यालयमा समेत खानेपानी धारा जडान गरिने बताउँदै लिती, आधामार, नयाँ घरटोललगायतका क्षेत्रमा वितरण गरिने खानेपानी आयोजनामा थप धारा जडानका लागि माग आएकाले अहिले प्रस्तावितभन्दा धारा जडान सङ्ख्या थपिन सक्ने बताए । नागदहमा खानेपानी संकलन गर्ने गरी ट्यांकी निर्माण सुरु भएको छ ।

च्वाइस नेपालले नगरपालिकासँगको सहकार्यमा धादिङ जिल्लाको सीमाना थाहा–१२, सलमपुरस्थित खानेपानी आयोजनाबाट १८ घरधुरी, वडा नं. ६ मा तिनाल खानेपाली आयोजनाबाट १५१ घरधुरी र वडा नं. ८ दामगाँडेस्थित खानेपानी आयोजनाबाट १६५ घर लाभान्वित हुने गरी खानेपानी योजना निर्माणको काम गरिरहेको छ । थाहा नगरपालिकाको सलमपुरस्थित खानेपानी आयोजनामा १५ लाख, तिनाल खानेपाली आयोजनामा १० लाख र दामगडेस्थित खानेपानी आयोजना ६० लाख रुपैयाँ लागत सहभागिता रहेको छ ।

च्वाइस नेपालले थाहा नगरपालिकाको ५० लाख रुपैयाँको लागत सहभागितामा थाहानगरको चित्लाङमा स्वास्थ्यचौकी निर्माण गरिरहेको छ । च्वाइस नेपालको साइट कार्यालयका व्यवस्थापक घिमिरेले खानेपानी आयोजनामा यातायातको सुविधा नभएको स्थानमा उपभोक्ताले खानेपानी आयोजनाका पाइपलगायतका सामग्री ओसार्ने, पाइप गाड्ने, खन्ने, पुर्नेलगायतका कार्यमा स्थानीयले श्रमदान गर्नुपर्ने गरी आयोजनाको प्रारुप तयार भएको र स्थानीय श्रमदानमा जुट्ने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*